स्वावलम्बन लघुवित्तद्वारा महिलालाई बाख्रापालन सम्बन्धी तालिम

डुम्रे : तनहुँको डुम्रेस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ। सहभागि महिलाहरुलाई बाख्रापालन कसरी गर्ने, खोर निर्माण गर्ने तरिका, उचित आहार व्यवस्थापन, बाख्राका रोग पहिचान तथा रोकथामका उपाय लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
उक्त तालिममा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य, डा. पूर्णबहादुर श्रेष्ठ, भेटेरिनरी प्राविधिक अर्जुन खनालले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले बाख्रापालनलाई आधुनिक र वैज्ञानिक तरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।
लघुवित्तका कार्यालय प्रमुख सुजन न्यौपानेका अनुसार सीपमूलक तालिमद्वारा स्थानीयलाई उद्यमशील बनाउने तथा आत्मनिर्भर बनाउन कार्यक्रम अन्तर्गत बाख्रापालन व्यवसाय गर्न चाहने व्यक्तिहरूलाई वित्तीय सहायता सहितको तालिम प्रदान गरिएको हो ।
तालिममा ३६ जना महिला सदस्यहरू तथा उनीहरूका परिवारका सदस्यहरू सहभागी भएका थिए । गोरखाको पालुङटार, तनहुँको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास लगायतका पालिकाका सहभागि रहेको बताइएको छ ।










