तनहुँ-१ उपनिर्वाचन : पुराना दलका गढ भत्काउँदै स्वर्णिमको उदय
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले भन्दा करिब १५ हजार बढी मत ल्याएर वाग्ले विजयी भएका हुन् ।
रास्वपाका उम्मेदवार वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार भट्टराइले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन् ।
यस्तै सम्पन्न निर्वाचनमा राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले ५, मंगोल नेश्नल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १६६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पूर्ण बहादुर रानाले ८७ मत प्राप्त गरेका छन । आइतबार भएको निर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६५ हजार ३१६ मत खसेको थियो । यस मध्ये ६४ हजार १३५ सदर मत र १ हजार १८१ मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरी निर्वाचित भएको घोषणा गरेका थिए । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायकको सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने बताए ।
तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै उनले जनताका अपेक्षालाई न्याय गर्ने उल्लेख गरेका छन् । जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरी काम गर्ने बताएका वाग्लेले नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको र सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउन आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई बधाई दिंदै प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा भएको बताए । आफु पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको बताउँदै उनले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहने जनाएका छन् ।
गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो । उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्मका दृश्य हेर्दा तनहुँको उपनिर्वाचन ‘महानिर्वाचन’को झल्को दिएको थियो ।
मुलुकका सबै राजनीतिक शक्ति तनहुँ निर्वाचन क्षेत्र नं. १ मा केन्द्रित भएका थिए । निर्वाचन भएको छोटो समयमै उपनिर्वाचन भएपनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गर्यो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका गढका रुपमा रहेका वडाहरुमा समेत रास्वपा निर्वाचित हुँदा जिल्लाको मात्र नभई राष्ट्रिय राजनीतिलाई नै यतिबेला तरङ्गित बनाएको छ ।
दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएर प्रचारप्रसारमा उत्रिएका थिए । तर, त्यो प्रतिष्ठानलाई आम मतदाताले ‘व्यालेट विद्रोह’ गरी नयाँ सन्देश दिएका छन् । मतदाताले जुन रुपमा मतदान गरे त्यसले पुराना र ठूलो राजनीतिक दललाई झस्काएको छ । पुराना र ठूला राजनीतिक दलका नेताहरुले तनहुँ १ मा नसोचिएको मत परिणाम आएको प्रतिक्रिया दिएका छन् ।
लोकतन्त्रमा दल र जनता शीर्षस्थानमा हुनेहुँदा जनताको फैसलालाई अस्वभाविक नमानी स्वीकार्नुपर्ने नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोख्रेल बताउँछन् । उनले भने, ‘जनताले गरेको निर्णय लोकतन्त्रमा विश्वास गर्ने दल र व्यक्तिले स्वीकार गर्नुपर्छ ।’
‘स्वर्णिमले छोटो समयमा गरेको प्रगतिले नयाँ सन्देश दिएको छ’, नेता पोख्रेलले भने, ‘जनताले परम्परागत रुपमा चल्ने दल, नेता होइन नयाँ सोच, भिजन र युवाको नेतृत्व र परिवर्तन खोजेको संकेत र सन्देश दिएका छन् ।’
रास्वपाले प्राप्त गरेको मतले दशकौदेखि स्थापित भएका, नेतृत्व गरेका, हिजो निरंकुशताका विरुद्ध लडेका र बहुदल पश्चात विभिन्न समयमा सरकारको नेतृत्व गरेका वा प्रतिपक्षको भूमिका निर्वाह गरेका दलहरु निकम्म भन्ने निष्कर्षनिकाल्न नमिल्ने नेकपा एमालेका नेता केदार सिग्देल बताउँछन् ।
‘उपनिर्वाचनको मत परिणामले पुराना राजनीतिक पार्टीहरुले गरेको कामबाट जनतामा सन्तुष्टि मिल्न नसकेको अवस्था र प्रतिविम्बको रुपमा रास्वपाको विजयी हो भन्न सकिन्छ’, नेता सिग्देलले भने, ‘एमाले, कांग्रेस लगायतका पुराना पार्टीहरुले के कम्जोरी भयो ? समिक्षा गर्ने एउटा पाटो बनेको छ । वस्तु निष्ठ ढंगबाट यसको समिक्षा हुनेछ ।’
तनहुँ-१ को उपनिर्वाचनमा मतदाताले मन र मत फेर्दा अस्वभाविक रुपमा मतपरिणाम आएको छ । व्यवस्था परिवर्तन भएपनि राजनीतिक दलको कार्यशैली परिवर्तन नहुँदा यो परिणाम आएको वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी बताउँछन् ।

‘मुलुकमा विकास पनि भएको छ । तर हिजो बिस वर्ष अगाडि चाहिएको विकासले अहिले नथेग्ने हुँदा समय अनुकूल बन्न पुराना राजनीतिक दल सक्षम भएनन्’, उनले भने, ‘राजनीतिक दल तथा नेताहरुलाई देवत्वकरण गर्ने, तल्लो तहका मानिसलाई दास सम्झिने र पटक पटक एउटै मान्छे उम्मेदवार बन्ने जस्ता कारणले अहिले जनताले नयाँ अभ्यासको सन्देश दिएका छन् । यो सन्देशलाई समयमै पुराना दलका नेताहरुले बुझेर सच्चिनुपर्ने देखिन्छ ।’
तनहुँ-१ मा पुराना र ठूला राजनीतिक दलका चर्चित नेतालाई नभई आम मतदाताले भरखरै स्थापित राजनीतिक दल रास्वपा र युवा नेतालाई मत जाहेर गरी ‘व्यालेट व्रि्रोह’ गरेका छन् । पुराना र ठूला राजनीतिक दललाई आफ्नो कार्यशैलीलाई सुधार्न पनि सन्देश दिएका छन् । तनहुँ-१ को उपनिर्वाचनलाई आफ्नो दलको जित वा हार हुनुलाई संसद्मा एउटा सांसद थपिने वा गुम्ने अर्थमा मात्रै लिएका थिएनन् । उपनिर्वाचनको परिणामलाई दल, दलको नेतृत्वको प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेर प्रतिष्पर्धाको विषय बनाएका थिए । तर, जनताले मन र मत बदलेर नयाँ सन्देश दिएका छन्।
गत निर्वाचनबाट मात्रै राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले मूलधारका दलहरूको अकर्मण्यता, अव्यवस्था र नेतृत्वको असक्षमता माथि प्रहार गरेर मतदातालाई आफूतिर खिच्ने कोसिस गरेको थियो । सार्वजनिक मत परिणामले पनि त्यो पुष्टि गरेको छ । अझ यसपटक अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले समेत कांग्रेस छाडेर रास्वपाबाटै उम्मेदवारी दिएपछि कांग्रेससहित मूलधारका पार्टीहरू तरङ्गित बनेका थिए ।
जनताको बल देखेपछि रास्वपा एउटा शक्ति बन्न सक्ने/नसक्ने समयले नै बताउँछ । तर, उपनिर्वाचनमा मतदाताले मन र मत फेरेर पुराना र ठूला राजनीतिक दलहरुका अगाडि ‘व्यालेट बिद्रोह’ गरेका छन् । जुन विश्वास र आशाका साथ मतदाताले नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपालाई आफ्नो मत खनाएका छन् त्यो भावनालाई बुझ्न तथा आशा र विश्वास अनुसार काम गर्न नसकेको खण्डमा जनताले नै पाखा लगाउने छन् ।










