भानु नगरपालिकाका पाँच विद्यालयलाई ल्यापटप वितरण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले पाँचवटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ । ग्लोबल आईर्एमई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भानु नगरपालिकालाई उपलब्ध गराइएको ल्यापटप विद्यालयहरूलाई वितरण गरिएको हो।
भानुको नगर शिक्षा योजनाको मूल नारा ‘गुणस्तरीय र प्रविधियुक्त शिक्षा-भानु नगरबासीको अपेक्षा’लाई साकार बनाउन यी ल्यापटप सहयोगी बन्ने आशा गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
भानु नगरपालिकाको सेवा प्रवाह कार्यालय भन्सारमा आयोजित एक कार्यक्रममा नगर प्रमुख त्रिपाठी र ग्लोबल आईर्एमई बैंक गण्डकी प्रदेश प्रबन्धक इश्वरी प्रसाद जोशीले संयुक्तरूपमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।
कुल २० थान ल्यापटप माग गरिएकोमा पहिलो चरणमा ५ थान उपलब्ध भएको र बाँकी संख्या चालू आवमा उपलब्ध गराउने प्रतिवद्धता समेत बैंकबाट व्यक्त भएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
उनका अनुसार पहिलो चरणमा श्री होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु-२ नारेश्वरटार, श्री चन्द्रावती मावि भानु-७ चुँदी, श्री कालिका मावि भानु-९ डुम्रिखर्क, श्री चोक मावि भानु-१० रामपुरटार र श्री राष्ट्रिय मावि भानु-११ मयाखुलाई एक-एक थान ल्यापटप उपलब्ध गराइएको छ ।
कार्यक्रममा भानुका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु नवीनराज दाहाल र चोक बहादुर खत्री, प्रधानाध्यापकहरु प्रेमनाथ ढकाल, गोबिन्द प्रसाद भट्टराइ, नारायण प्रसाद घिमिरे, अमृत नेपाली र देवेन्द्र थापा, ग्लोबल आईर्एमई बैंक डुम्रे शाखाका प्रबन्धक निराजन श्रेष्ठ, एक्सटेन्सन काउन्टर फुस्रेटारका इन्चार्ज बिष्णु देवकोटा लगायत उपलब्ध सामग्रीको प्रयोगबाट आधुनिक सूचना प्रविधिको सहि सदुपयोग भई कक्षाकोठा शिक्षण थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।










