अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि सरोकारवालासंग अभिमुखीकरण

दमौली : नयाँ शैक्षिक सत्र नजिकिएसंगै तनहुँमा सरोकारवालाहरुसंग अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि अभमुखीकरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँले आइतबार जिल्लाका १० वटै पालिकाका प्रमुख, शिक्षा शाखा प्रमुख तथा सरोकारवालाहरुको उपस्थितिामा अभिमुखीकरण गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेलले सरकारद्वारा ल्याएको निःशुल्क शिक्षा अनिवार्य रुपमा सबै बालबालिकाको पहुँचमा पाउनुपर्ने बताए । उनले भने, ‘विद्यालय वा शैक्षिक संस्थाले सरकारले तोकिएको उमेर समूहका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा उपलब्ध गराउनुपर्छ ।’
माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापतको रकम भनि शुल्क असुल्न नपाइने व्यवस्था छ । इकाई प्रमुख कट्टेलले भने, ‘विद्यालयले भर्ना गर्न नरोक्ने र आफ्नो विद्यालयको क्षमता अनुसार कोटा पुरा भएका अन्य विद्यालयमा सिफरिस गरौं । अपाङ्गता भएका विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने छ, नीजि लगानीका विद्यालय सेवामूलक हुनुपर्ने र विद्यार्थी संख्याका आधारमा निःशुल्क शिक्षाका लागि कोटा उपलब्ध गराउनुपर्ने छ ।’
यस्तै, कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले नै ३५ जना स्वयंसेवक शिक्षक राखेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। ‘विद्यार्थीलाई गुणस्तर शिक्षा दिनका लागि श्रोत, साधन, पूर्वाधार बिकासमा स्थानीय तहले सहयोग गर्छ, तर शिक्षा शिक्षकले नै दिनुपर्छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा तीनै तहका सरकारले जति लगानी गरेपनि उल्लेखीय सुधार भने देख्न सकिएको छैन ।’
सरकारले माविस्तरको शिक्षा निःशुल्क गर्ने भनेपनि विद्यालय र स्थानीय तहलाई व्यवस्थापनमा समस्य भएको भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए । ‘विद्यालयका अतिरिक्त खर्च जस्तै बत्तीको विल, खानेपानी, सरसफाई, इन्टरनेट, विद्यालय बस, लेखा परीक्षण लगायतका खर्च हुन्छन्’, उनले भने, ‘यी खर्चका व्यवस्थापनले गर्दा विभिन्न शिर्षकमा विद्यार्थीसंग रकम उठाउन बाध्यता रहेको विद्यालयका प्रधानध्यापकहरु बताउनुहुन्छ । भानु नगरपालिकाले यसको लागि आन्तरिक बजेट बिनियोजन गरेका छौं ।’
यस्तै, विद्यार्थीलाई प्रयोगात्मक शिक्षा, उनीहरुलाई स्वारोजगार बनाउने शिक्षा, गुणस्तरीय शिक्षाको वातावरण बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए।
तनहुँमा ४१८ वटा सामुदायिक, १२४ संस्थागत विद्यालय र ५ वटा गुरुकुल छन् । जसमध्ये सामुदायिक विद्यालयमा ४६ हजार ८४७ जना र संस्थागतमा २२ हजार २६५ जना विद्यार्थी अध्यनरत छन् ।










