कोरोनाबाट तनहुँमा एक सय चारको मृत्यु, पाँच पालिका उच्च जोखिममा

वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिका सात, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका ४१, भिमाद नगरपालिकाका १५, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

पाँच पालिका उच्च जोखिममा

तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भए पनि सर्वसाधारणबाट लापरबाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ छ । वैशाख यता जिल्लाका चार हजार ७८६ कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये चार हजार २४५ सङ्क्रमणमुक्त भएका छन् ।

दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् ।

भानु नगरपालिकाका ३१७, व्यास नगरपालिकाका एक हजार ६०६, शुक्लागण्डकी नगरपालिकाका एक हजार २७२, भिमाद नगरपालिकाका ४९०, म्याग्दे गाउँपालिकाका ४३९, घिरिङ गाउँपालिकाका १३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दीपुर गाउँपालिकाका २५८ र आँबुखैरेनी गाउँपालिकाका १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसमध्ये भानुमा २५७, व्यासमा एक हजार ३९१, शुक्लागण्डकीमा एक हजार १२५, भिमादमा ४५१ र म्याग्देमा ३९५ जना सङ्क्रमणमुक्त भएका छन् । घिरिङमा १२६, ऋषिङमा ७९, देवघाटमा ७२, बन्दीपुरमा २५२ र आँबुखैरेनीमा ९७ जना सङ्क्रमणमुक्त छन् ।

जिल्लामा यस अवधिमा छ हजार १०५ जनाको पीसीआर र छ हजार ६०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५.८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

“निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भए पनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गर्नुभयो । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरबाही गर्नुभएन,” अधिकारीले भन्नुभयो, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker