व्यासको ३३औं स्थापना दिवस – वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही हुन्छ: मुख्यमन्त्री पाण्डे

दमौली : तनहुँको व्यास नगरपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी ३३औं स्थापना दिवस मनाएको छ । व्यास स्थापना दिवसलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताए ।
‘लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही हुन्छ’, उनले भने, ‘राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन ।’
‘तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव छ । संघीय लोकतान्त्रिक व्यवस्था खारेज गर्छु भन्नु दिवा सपना मात्रै हो’, उनले भने, ‘अहिलेको व्यवस्था कसैले कोठामा बसेर इच्छा गरेर आएको होइन । यसमा जनताको ठूलो बलिदानी छ । कोठामा बसेर केही मानिसलाई उचालेको भरमा संघीयता र गणतन्त्र समाप्त हुन सक्दैन ।’
मुख्यमन्त्री पाण्डेले सबै राजनीतिक दलको सहमतिमा संविधान निर्माण भएको चर्चा गर्दै भने, ‘कुनै एउटा राजनीतिक दलको विचार प्रभावित भएर संविधान बनेको होइन । सबैको सहमतिको दस्तावेज संविधान हो । अहिलेकै व्यवस्थालाई लिएर आर्थिक उन्नतिको बाटो खोज्नुपर्छ । मुलुकको भविष्यको लागि त्यो नै सही बाटो हो ।’
मुख्यमन्त्री पाण्डेले राजाको २४० वर्षको शासन जनताले हेरिसकेको बताउँदै तीन तहको सरकार बनेपछि धेरै विकासका काम भएको चर्चा गरे । २४० वर्ष राजाको शासन थियो त्यतिबेला नेपालमा कुनै विकास नभएको बताए ।
संविधानले निर्दिष्ट गरेका केही अधिकार प्रदेश र स्थानीय सरकारले प्राप्त गर्न नसकेकाले त्यसतर्फ आवाज उठाइरहेको बताउँदै उनले भने, ‘नेपालमा केही भए भनेर गलत भाष्य निर्माण गर्न खोजिएको छ । मुलुकको विकासका लागि सबैले सोच्नुपर्छ । युरोप र अमेरिका यत्तिकै बनेको हो र ? देश विकास हुनलाई समय लाग्छ, त्यसका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक छ ।’
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, पूर्व सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
‘छाब्दीबाराहीको दर्शन’
यस्तै, छाब्दीबाराही मन्दिरको दर्शन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् र व्यास–१४ स्थित छाब्दीबाराही मन्दिरको सबै मिलेर यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले छाब्दीबाराही विकास कोषका पदाधिकारीसँग छलफलसमेत गरे । छाब्दीबाराही मन्दिर गण्डकी प्रदेशको महत्त्वपूर्ण धार्मिकस्थल भएकाले यसको प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
यस्तै, छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले मन्दिरका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । अध्यक्ष थापाले भने, ‘छाब्दीबाराहीमा सुनको टीका भएको माछाका रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिरबाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।’
मन्दिरमा तीनजना मगर जातिका पुजारी रहेका छन् । यहाँ साउन, एकादशी र औँसी तिथिबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
गत वर्ष पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका अध्यक्ष थापाले जानकारी दिए । त्यसक्रममा ६५ जिल्लाबाट भक्तजन यहाँ आएको तथ्याङ्क रहेको कोषले जनाएको छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको कोषका अध्यक्ष थापाले बताए । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिने गरिन्छ ।
छाब्दीबाराही मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रूपमा रहेका छन् ।