पृथ्वीराजमार्ग विस्तार : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा ६ प्रतिशत प्रगति

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नती कार्य भइरहेको छ । बजार क्षेत्रमा छ र अन्य क्षेत्रमा चार लेनमा सडक विस्तार गर्ने उद्देश्यसहित राजमार्गको मुग्लिन-पोखरा सडक खण्डलाई दुइ खण्डमा विभाजन गरी काम भइरहेको छ । सडक विस्तार योजनाको आँवुखैरेनी-जामुने (पूर्वी खण्ड)मा २५ र जामुने-कास्की (पश्चिम खण्ड)मा ६.०५ प्रतिशत भौतिक प्रगति हासिल भएको योजनाले जनाएको छ । पूर्वी खण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त गति भएको छ ।

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले यो खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको बताए । साथै सबवेश र फेसको काम पनि सुरु गर्न लागिएको सुवेदीले बताए ।

उक्त खण्डमा विद्युत्का खम्बा स्थानान्तरणको कामले समस्या भएपनि उक्त समस्या समाधान हुँदै गएको सुवेदीले बताए । पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको तयारी गरिएको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षभत्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले भने, ‘अब कालोपत्रको काम अगाडि बढ्छ । सडक कालोपत्रको परीक्षण भइसकेको छ । कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौ ।’

यस्तै जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको प्रगति न्यून रहेको मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख अमितकुमार श्रेष्ठले बताए । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको र अब विस्तारै कामको गति बढ्ने श्रेष्ठले बताए ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker