पक्की सडकमा खानेपानी, टेलिकम्युनिकेशनको काम गर्दा नगरपालिकासंग स्वीकृति लिनुपर्ने
भञ्ज्याङन्यूज
![](https://bhanjyangnews.com/wp-content/uploads/2021/04/IMG_20210417_083104-780x470.jpg)
तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्र भित्रका पक्की सडकमा खानेपानी तथा टेलिकम्युनिकेशनका काम गर्दा नगरपालिकासंग स्वीकृति लिनुपर्ने भएको छ । कालोपत्रे सडक काट्ने र मर्मत नगरी छाड्ने प्रवृत्ति बढेका कारण नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
नगरकार्यापालिकाको सोमबार बसेको बैठकले पक्की सडकहरुमा खानेपानी, टेलिकम्युनिकेशनका कामका लागि अनुमति नलिई कालोपत्रे सडक काट्ने र मर्मत नगरी छाड्ने गरेको पाइएकोले मर्मत गर्ने प्रतिवद्धता सहित नगरपालिकाको स्वीकृति लिएर आवश्यक स्थानमा मात्र कालोपत्रे सडक काट्न सम्बन्धित संघसंस्था एवं निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पृथ्वीराजमार्ग विस्तार योजनामा नगरपालिकाबाट पटक पटक सडक क्षेत्रका घर हटाउन अनुरोध गरिएकोमा हालसम्म प्रगति नदेखिएकाले राजमार्गमा पर्ने डुम्रे, छिर्कन लगायतका क्षेत्रमा घर भत्काई सडक विस्तार भइरहेको अवस्थालाई मनन गरी राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारमा सडक क्षेत्रका घर हटाइ सहयोग पुर्याउन अनुरोध गरिएको छ ।
यस्तै, आगामी चैत्र ३० गते व्यास नगरपालिकाको ३२औं स्थापना दिवसका अवसरमा नगरपालिकाले सम्पादन गरेका कार्यहरुको शाखा/उपशाखागत, वडास्तरीय र नगरस्तरीय प्रगति विवरणहरु संलग्न गराइ “व्यास नगर दर्पण २०८०” प्रकाशन गरिने भएको छ । व्यास नगर दर्पण प्रकाशनका लागि नगर प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङको अध्यक्षतामा ७ सदस्यीय प्रकाशन समिति गठन गरिएको छ ।
नगरपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्ट टोल विकास संस्था, कृषि तथा पशुपंक्षी व्यवसायी, करदाता, उपभोक्ता समिति, शिक्षक, कर्मचारी, प्रतिभावान विद्यार्थीहरुलाई पुरस्कृत गर्नका लागि उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तावित योजनाहरुको सम्पादित कार्यढाँचाको समीक्षा गरी आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा योजना तर्जुमा सम्बन्धी मापदण्ड तयार गरी एक महिनाभित्र कार्यपालिका समक्ष पेश गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा सात सदस्यीय मापदण्ड प्रस्ताव समिति गठन गर्ने निर्णय भएको प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी गराए ।
बैठकले नगरपालिका भित्रका संघीय कार्यक्रम अन्तर्गत योजना आयोग मार्फत रहेका चालु क्रमागत योजनाहरु करङ्गकाठ बसपार्क बुल्दी खोला मोटरेवल पुल, देवीडाँडा खानेपानी योजना, साँधखोला कमेरेपानी खानेपानी योजना, मानुङ्ग खानेपानी योजना, गजौडी खानेपानी मुल केशवटार, खड्गकाली मार्ग निर्माण योजना सम्पन्नताका लागि योजना आयोग मार्फ थप रकम माग गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, बुल्दी खोला घाँसीकुवा मोटरेवल पुल (व्यास १-११) समेतलाई समपुरक योजनामा समावेश गर्न माग गर्ने बैठकले निर्णय गरेको प्रवक्त गुरुङले जानकारी गराए ।