तनहुँमा निर्वाचनको तयारी पुरा, सुरक्षाकर्मी र निर्वाचनका सामाग्री सहित कर्मचारीहरु मतदान केन्द्र पुगे
भञ्ज्याङ समाचारदाता/दमौली
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आवश्यक तयारी तनहुँमा पुरा गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा गरी सुरक्षा व्यवस्था सहित मतदान केन्द्रमा निर्वाचनमा खट्टएिका कर्मचारीहरु पुगेका छन् ।
तनहुँका दुइ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि नियुक्त भएका म्यादी प्रहरी, सुरक्षाकर्मी तथा मतदान गराउनका लागि खट्टएिका निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतका साथै अन्य कर्मचारीहरु आ-आफ्नो निर्वाचन केन्द्रमा पुगेका छन् ।
जिल्लाका सबै मतदान केन्द्रका लागि खटिएका म्यादी प्रहरीहरु सदरमुकाम दमौलीमा बुधबार जम्मा भएर आफ्नो जिम्मेवारी पूरा गरेर फर्किने भन्दै उत्साहपूर्ण रुपमा मतदान केन्द्र तर्फ गएका छन् । कर्मचारीहरु पनि निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्ला निर्वाचन कार्यालयबाट बुझेर विहीबार आ-आफ्नो मतदान केन्द्रमा पुगेका छन् ।
तनहुँमा कायम गरिएका १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । प्रजिअ अर्यालका अनुसार तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।
निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी खटाइएको उनले बताए । तनहुँको १० स्थानीय तहका ८५ वटा वडाकमा रहेका १४२ मतदान स्थलमा कायम गरिएको ३०५ मतदान केन्द्रबाट २ लाख ४८ हजार ४९५ जना मतदातालाई मतदान गरनाउनका लागि २ हजार ४४० जना कर्मचारी खट्टएिका छन् ।
२ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । तनहुँको निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० र निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना गरी २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ६९ मतदान स्थलमा १५२ वटा मतदान केन्द्र कायम गरिएको छ भने क्षेत्र नं. २ का ७३ मतदान स्थलमा १५३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले मंसिर ४ गतेको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुटेका छन् । यता राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु पनि आ-आफ्नो पक्षमा भोट माग्न तथा जोडघटामाउ लागि परेका छन् ।










