परम्परागत संस्कृति संरक्षणका लागि कुमाल समुदायले “पाउँदुरे नाँच” पुस्ताहस्तान्तरण गर्ने

दमौली : कुमाल समुदायको मौलिक सांस्कृतिक सम्पदामध्ये एक अमूल्य नृत्यकला ‘पाउँदुरे नाँच’ संकटमा परेको बेला तनहुँ जिल्लाको व्यास नगरपालिका–९, कलेस्ती कुमाल गाउँमा यसलाई पुनर्जीवित गर्ने उद्देश्यसहित पुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ ।
कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँले सामाजिक विकास कार्यालय, तनहुँको आर्थिक सहयोगमा ७ दिन लामो प्रशिक्षण सहितको पाउँदुरे नाँच कार्यक्रम आयोजना गरिएको छ । यसमा स्थानीय अग्रज कलाकारहरूले नयाँ पुस्तालाई पाउँदुरे नाँच सिकाउने बताइएको छ । समाजका अग्रज एवं संस्कृति ज्ञाता दलबहादुर कुमालले पाउँदुरे नाँचका साथै कुमाल समुदायका संस्कार, सँस्कृतिका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
पाउँदुरे नाँच कुमाल समुदायको एक गहन सांस्कृतिक अभिव्यक्ति हो, जसमा धार्मिक र ऐतिहासिक कथाहरू जोडिएका हुन्छन् । विशेषतः रामायण र कृष्ण चरित्रलाई गीत र नृत्यमार्फत प्रस्तुत गर्ने गरिन्छ । यो नाँच केवल मनोरञ्जनको साधन नभई धार्मिक, सामाजिक र आध्यात्मिक पक्षबाट समेत महत्वपूर्ण मानिन्छ ।
नाँचको विशेषता यसको विधि र परम्परागत शैलीमा छ, जुन सहजै सिक्न सकिने होइन । त्यसैले यो नाँच केवल अनुभवी अग्रजहरूको मार्गदर्शनमा मात्र सम्भव भएकोले यो कार्यक्रम आयोजना गरिएको समाज तनहुँका अध्यक्ष लोक बहादुर कुमाल (आलोक)ले जानकारी गराए ।
उनले भने, ‘कुमाल समुदायमा अझै पनि मान्यता रहेको यो नाँच घरमा गरिंदा शान्ति, समृद्धि र सुख समावेश हुने विश्वास गरिन्छ। विशेष पर्व, चाडबाड, विवाह, दशैं–तिहारको अवसरमा यो नाँच प्रस्तुत गर्ने चलन रहँदै आएको छ ।’
तनहुँ जिल्लाको भानु, व्यास, म्याग्दे, शुक्लागण्डकी, भिमाद र घिरिङ लगायतका पालिकाहरूमा कुमाल समुदायको बाक्लो बसोबास रहेको छ । करिब ८ हजार ७२७ कुमाल जनसंख्या रहेको यस जिल्लामा पाँउदुरे, घाँटु, हेम्फाई, कौराहा, झ्याउरे लगायत थुप्रै मौलिक नृत्य र संस्कृतिहरू प्रचलित छन् ।
तर पछिल्लो समयमा आर्थिक समस्याका कारण कुमाल समुदायका युवाहरू कृषि र रोजगारीको सिलसिलामा गाउँ छाडेर अन्यत्र जान क्रम बढेपछि परम्परागत संस्कार, सँस्कृति लोपको संघारमा पुग्न थालेकामा समुदायका अग्रजहरु चिन्तित छन । साथसाथै, नयाँ पुस्तामा सांस्कृतिक चेतनाको कमिले गर्दा पनि यस्ता मौलिक नृत्य–गीत लोप हुने अवस्थामा पुगेको अध्यक्ष कुमालले बताए ।
व्यास–९ कलेस्ती कुमाल गाउँमा पाउँदुरे नाँच लोप हुने स्थितिमा पुगेकाले यसलाई पुनः जगेर्ना गर्ने उद्देश्यसहित पुस्ता हस्तान्तरण कार्यक्रम ल्याइएको उनले बताए । कार्यक्रमको मुख्य उद्देश्य कुमाल समुदायभित्र मौलिक संस्कृतिको महत्वप्रति चेतना जगाउनु, अगुवा पुस्ताबाट नयाँ पुस्तामा प्रत्यक्ष नाँच र गीतको अभ्यास गराउनु र समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण बनाउनु रहेको छ ।
कार्यक्रममा सहभागीहरुलाई अनुभवी कलाकारहरूमार्फत गीतको भाव, ताल, लय, नृत्य शैली लगायत सम्पूर्ण विधिको तालिम दिइने छ । यो नाँच प्रशिक्षणपछि समुदायमै प्रदर्शन गर्ने योजना समेत रहेको आयोजकले जनाएको छ । कुमाल समुदायका अध्यक्ष एवं अगुवा लोकबहादुर कुमालले भने, “हामीले अगिल्लो पुस्तामा सिकेको यो नाँच अब सिकाउने बेला आएको छ । यदि अहिले पनि पुस्ताहस्तान्तरण गरिएन भने सधैंका लागि यो कला हराउने डर छ ।”
कार्यक्रममा व्यास नगरपालिकासहित जिल्ला भरिका पालिकाबाट समेत सहभागिता गराइनेछ । आयोजकका अनुसार युवाहरूलाई आकर्षित गर्न संवाद, साङ्गीतिक अभ्यास, अनुभव आदान–प्रदान लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
लोप हुँदै गएका मौलिक संस्कृति र परम्पराहरू संरक्षण गर्न स्थानीय तहमै यस्ता कार्यक्रम हुनु समयको आवश्यकता हो । पाउँदुरे नाँच पुस्ता हस्तान्तरण कार्यक्रमले तनहुँ जिल्लामा मात्र होइन, देशभर फैलिएका कुमाल समुदायका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ । समुदाय र सरकारबीचको सहकार्यले मात्र यस्ता सम्पदा भविष्यमा जोगाउन सकिन्छ भन्ने कुरा यो प्रयासले पुष्टि गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker