विपीको शालिकमा माल्यार्पण गरी शुक्लागण्डकीमा एमालेको घरदैलो अभियान, बोलेका कुरा पुरा गर्ने प्रतिवद्धता

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फाट मनोनयन दर्ता गराएका उम्मेद्वारले विपी कोईरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन् । बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा विपीचोकमा रहेको विपी कोईरालाको शालिकमा मार्ल्यर्पण गर्दै एमालेबाट मेयरका उम्मेद्वार मुक्ति तिम्लिसिना, उपमेयर फुलमाया वाग्लेको घरदैलो अभियानको सुरुवात गरिएको हो । एमालेबाट शुक्लागण्डकीको १२ वटा वडामा वडाध्यक्ष र वडा सदस्यमा उम्मेद्वारी दिएका अधिकांश सहभागी थिए ।

एमालेका उम्मेद्वारहरुले सुरुमा बुधबार विहान शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरबाराही मन्दिरमा पुजा अर्चना गर्दै आर्शिवाद लिए । ढोरबाराही मन्दिरको प्राङगणमा बसेर उम्मेद्वारहरुले बोलेका कुरा पुरा गर्ने वाचा समेत गरे ।

त्यसपछि शुक्लागण्डकी-८ पाटनमा रहेको शहिद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गर्दै शहिदको बलिदानीको प्रशंसा गर्दै शहिदको सपना साकार पार्ने प्रण गरे । २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको श्रीमतिलाई भेट्दै उम्मेद्वारहरुले जितका लागि आर्शिवाद लिए ।

शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा रहेको शहिद स्मृति पार्कमा पनि उम्मेद्वारहरु पुगेर माल्यार्पण गरिएको छ। २०६३/६३ को जनआन्दोलनमा शहादत प्राप्त गरेको शहिदहरुको स्मृतिमा यहाँ शहिद स्मृति पार्क निर्माण गरिएको छ। उम्मेद्वारको समुहले शुक्लागण्डकी-२ कोत्रेमा रहेको लालध्वज पार्कमा रहेका शदिहको शालिकमा पनि माल्यार्पण गरेका छन् । उम्मेद्वारहरुले शुक्लागण्डकी-२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको पनि दर्शन गर्दै पुजा अर्चना गरे ।

शुक्लागण्डकी वासीलाई सुखी बनाउन सडक पूर्वाधार, कृषिमा आत्मानिर्भरता, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएको मेयरका उम्मेद्वार तिम्लिसिनाल बताउँछन् । उनी भन्छन्, ‘हामी जे बोल्छौ त्यो पुरा गर्र्छौ । कुनै किसिमको लोभ लालचमा पर्ने छैनौ ।’ निर्वाचनमा विजयी भएपछि कसैसँग पनि आग्रह पुर्वाग्रह राखेर काम नगर्ने उनको भनाई छ । नगर क्षेत्रमा रहेको खनिज र स्रोत साधनलाई उपयोग गर्दै विकासलाई जोड दिने उनले बताए ।

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास, सम्बृद्ध, समानता र समुन्नत शुक्लागण्डकीका लागि नेकपा एमालेको सरकारु नाराका साथ पाँच बर्षमा पार्टीका जनप्रतिनिधिले गर्ने प्रतिबद्धता पत्र सार्वजनिक यसअगाडी नै गरेको छ । सामाजिक न्याय सहितको आर्थिक विकास, शुसासन र न्यायोचित वितरण सहितको आर्थिक सम्बृद्धि नेकपा एमाले शुक्लागण्डकीको विकास नीति सार भएको उपमेयरकी उम्मेद्वार फुलमाया वाग्लेले बताईन् । शुक्लागण्डकीमा एमाले विजयी भएपछि दिगो शान्ति र विकासलाई प्राथमिकता दिने उनको भनाई छ ।

अब बैशाख १८ गतेबाट एमालेले शुक्लागण्डकीमा नियमित रुपमा घरदैलो अभियान सञ्चालन गर्नेछ । एमाले शुक्लागण्डकीको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नती र मोटरबेल पुल निर्माणलाई मुख्य प्राथमिकता दिईएको छ । दर्जनौँ सडक र मोटरेवल पुलहरु निर्माणका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गरिएको छ ।

ढोरको फलाम खानीको उत्खनन् अगाडी बढाइने प्रतिबद्धता छ । सेती नदीको दुइ स्थानमा चेक ड्याम निर्माण गर्दै गिट्टी वालुवाबाट आम्दानी बढाउने र स्टिमर सञ्चालन गर्दै पर्यटकीय गन्तव्य बनाउने योजना छ । ‘सेती नदीमा जलमार्गको सम्भाव्यता अध्ययन गरिनेछ । शुक्लागण्डकीमा रहेका कुम्ले खोला, सुरौदी खोला क्याङदी खोला, म्याग्दे खोला र सेती नदीका विभिन्न भागमा उच्च बाँध निर्माण गरेर जलशायहरुमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिनेछु, प्रतिबद्धता पत्रमा भनिएको छ । नगरका फाँटहरुमा सिँचाईको व्यवस्थापन गर्दै उत्पादनमा आत्मानिर्भर गराउने लक्ष्य राखिएको छ ।

दमकल सेवा सञ्चालन, दुइ हजार पाँच सय क्षमताको सिटी हल निर्माण, व्यवस्थित बसपार्क, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, सेती नदीको सुन्दरता कायम, वडामै वर्थिङसेन्टर र एम्बुलेन्स सञ्चालन, विदेश पढ्न जानेलाई पनि छात्रवृत्ति जस्ता महत्वकांक्षी योजनाहरु प्रतिबद्धता पत्रमा समेटिएको छ ।

आगामी १० बर्षभित्र शुक्लागण्डकीको सम्मपूर्ण उत्पादनलाई औद्योगिकरण गर्ने प्रतिबद्धता छ । इलेक्टि्रक सवारी साधनलाई अनुदान, इनडक्सन चुलोमा अनुदान, बिजुलीको युनिटमा विशेष छुट दिइने पनि एमालेले उल्लेख गरेको छ ।

नगरपालिकामा रहेका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नगरपालिका नै लालपुर्जा दिने प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भनिएको छ । सार्वजनिक, सरकारी र निजी जग्गाको पहिचान गरेर संरक्षण गर्ने । अव्यवस्थित बसोवासी एवं भुमिहिन दलिन, सुकुम्बासीहरुलाई दुइ बर्षमा पूर्ण व्यवस्थापन गरिनेछ । नगरस्तरिय कानुन बनाई पुर्जा वितरण गरिनेछ । आवास क्षेत्र, एकीकृत कृषि, भु-उपयोग निती लागु गरिनेछु, प्रतिबद्धता पत्रमा उल्लेख छ । संघीय सरकारले पुर्जा नदिए नगरपालिकाले सेतो पुर्जा भएपनि दुइ बर्षमा बाँड्ने एमालेको उद्घोष छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker