तनहुँको ऐतिहासिकस्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयको अग्रसरता

तनहुँको ऐतिहासिकस्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका छन् । व्यास नगरपालिका-११ स्थित तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी जागरुक भएका हुन् । घरबासमार्फ ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थानीयबासी घरबास सञ्चालन गर्न लागेको तनहुँसुर सामुदायिक घरबास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सेनवंशीले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको र यसको प्रचारप्रसारमा जुट्दै घरबास सञ्चालन गर्ने योजनासहित अगाडि बढेको उहाँले बताउनुभयो ।
सो ठाउँमा घरबास सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको छ । उहाँका अनुसार, सामुदायिक घरबास व्यवस्थापन समितिमा अहिले आठ घर आबद्ध छन् । बिस्तारै अन्य घरहरूलाई पनि समितिमा आबद्ध हुने जनाइएको छ । “घरबास सञ्चालनका लागि स्थानीयले घरहरू सुधार गर्न शुरु गरेका छन्”, उहाँले भन्नुभयो, “तनहुँसुर ऐतिहासिक ठाउँ भए पनि स्थानीयवासीले यसको फाइदा लिन सकेका छैनन् ।” पछिल्लो समय व्यास नगरपालिकाले अतिथि सत्कार तथा घरबास व्यवस्थापन तालीमसमेत शुरुआत गरेको छ । यही मङ्सिर १३ गतेसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागिता छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरबासको भूमिका महत्वपूर्ण हुने जनाउँदै ऐतिहासिक एवं शहीद गाउँ तनहुँसुरको प्रवर्द्धनका लागि नगरपालिका जुटिरहेको बताउनुभयो । “सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई दृष्टिगत गर्दै घरबास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले घरबास सञ्चालकलाई स्थानीय उत्पादन, खाना तथा पेयपदार्थको व्यवस्थापन, खानाका प्रकार तथा पकाउने विधि, कटिङ, कुकिङको प्रयोगात्मक कक्षा, भान्सा सजावट तथा व्यवस्थापन, खाना सजावट तथा पस्किने तरिका लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो ।
तनहुँसुर पुग्ने खड्गदेवी मोटरमार्गको ६ किमी खण्ड कालोपत्रको तयारी गरिएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु १० करोड लागतमा सडक कालोपत्रको तयारी भइरहेको छ । उहाँका अनुसार, हाल सडक फराकिलो, नाला निर्माण र ग्याबिन जाली भर्ने काम भइरहेको छ । “तनहुँसुर ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसारमा जुटेका छौँ”, उहाँले भन्नुभयो ।
पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनारलगायत अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा व्यास नगरपालिकाले रु ३५ लाखको लागतमा शहीद पार्क निर्माण गरेको छ । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृंखला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । केही समय अगाडि पुरातत्व विभागले तनहुँसुर दरबारको उत्खनन गरेको थियो । रासस










