संगठनहरुलाई पुनःस्थापना गर्न जनमोर्चा तनहुँको माग
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय जनमोर्चा तनहुँले पार्टी नेतृत्वले विघटन गरेको विभिन्न संगठनहरुलाई पुनःस्थापिना गर्ने माग गरेको छ । तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वले पार्टीको कान्तिकारी दिशालाई परित्याग गरी दक्षिणपन्थी दिशा अवलम्बन गर्दै गइरहेको जनाएको छ ।
नयाँ जनवादी क्रान्तिको आधार तयार पार्दै जानुको सट्टा प्रतिक्रियावादी व्यवस्था प्रति लिप्त हुँदै गइरहेको भन्दै विज्ञप्तिमा पार्टीमा कान्तिकारी विचार राख्ने नेता कार्यकर्ताहरुलाई अनाधिकृत रुपमा कारवाही गरिएको, फरक मत राखेकै कारण कयौ साथीहरुलाई झुठो आरोप लगाएर पार्टीबाट निस्कासन, निलम्बन, जिम्मेवारी विहिन बनाउने लगायतका कारबाहीहरु गरी जिल्ला पार्टीको भावना विपरित कयौ निर्णयहरु स्वच्छाचारी ढंगबाट गरिएको भनिएको छ ।
पार्टीको कान्तिकारी विचारलाई रक्षा गर्नका लागि राष्ट्रिय जनमोर्चाको माघ १५ गते विशेष भेलाद्वारा कृष्णराज पौडेलको नेतृत्वमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ । उक्त समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला समिति तनहुँको सोमबार बसेको बैठकले एकमतले र्समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी नेतृत्वले विघटन गरिएका विभिन्न संगठनहरुलाई पुनःस्थापना गर्नुपर्ने पार्टीले दक्षिणपन्थी नीति अपनाएको कारण उत्पन्न पार्टीभित्रको अन्तरविरोधलाई छलफलद्वारा हल गर्नुपर्ने र विचारको आधारमा कारवाही गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुको कारवाही फिर्ता गरी पार्टीलाई एकढिक्का बनाएर लैजान जिल्ला समिति जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।










