सम्पादकीय : साहित्यिक पर्यटनको गन्तव्य – भानु जन्मस्थल
नारायण खड्का

साहित्यकारका लागि प्रेरणा र सिर्जनाको स्रोतका रूपमा रहेका स्थानहरू भ्रमणले नयाँ अनुभव र दृष्टिकोण दिन्छ । नेपालका साहित्यिक तीर्थस्थलहरूमध्ये भानु जन्मस्थल तनहुँको चुँदीरम्घामा रहेको संग्रहालय र शिखर कटेरी महत्त्वपूर्ण गन्तव्य स्थलहरू हुन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरी र उनको जीवनसँग सम्बन्धित सामग्रीहरू संग्रहित भानु संग्रहालयलाई साहित्यकार र पर्यटकहरूको लागि आकर्षण केन्द्रको रूपमा विकास गर्न आवश्यक छ। भानु नगरपालिकामा रहेको चुँदी रम्घाको शिखर कटेरीमा भानुभक्तको जन्म भएको थियो। यो स्थानसम्म पुग्नका लागि मोटरमार्गको पहुँच भएकाले साहित्यकारहरूका लागि सहज यात्रा बन्न सक्छ । शिखर कटेरीमा पुगेपछि स्रष्टाहरूले प्राकृतिक सुन्दरता, सांस्कृतिक धरोहर र ऐतिहासिक महत्त्वलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।
शिखर कटेरीमा भानुभक्तले बिताएको बाल्यकालदेखि लिएर उनको साहित्यिक यात्रा सम्मको सम्पूर्ण कथावस्तुलाई संग्रहालयमा संकलन गरिएको छ । संग्रहालयमा राखिएका वस्तुहरूले भानुभक्तको साधारण जीवनशैली र सिर्जनात्मक व्यक्तित्वलाई प्रस्ट पार्छन् । त्यहाँ भानुभक्तले प्रयोग गरेका मसीदानी, कलम, खाट, सन्दुक, पूजा सामग्रीजस्ता ऐतिहासिक वस्तुहरू संग्रहित छन् । यी वस्तुहरूले भानुभक्तको जीवन र साहित्यिक योगदानलाई थप नजिकबाट बुझ्न अवसर दिन्छ। संग्रहालयमा भानुभक्तले लेखेका हस्तलिखित पाण्डुलिपिहरू, मसीदानी र कलमले लेखिएका कृति, गजल, कविता, रामायणको बालकाण्ड लगायतका कृतिहरू अवलोकन गर्न सकिन्छ । यस्ता सामग्रीहरू साहित्यकारहरूका लागि प्रेरणा बन्न सक्छन्। संग्रहालय प्रवेश गरेपछि भानुभक्तको सरल जीवनशैली र उनको महान् साहित्यिक योगदानको झल्को पाइन्छ ।
शिखर कटेरी क्षेत्रमा देखिने प्राकृतिक सुन्दरता, हरियाली फाँट, घाँसका डाँडाहरू, र स्थानीय जनजीवन पनि साहित्यकारहरूको लेखनका लागि नयाँ विषयवस्तु प्रदान गर्छ। साहित्यकारहरूका लागि यो ठाउँले मौलिकता, नवीनता र सिर्जनशीलताको उद्गम स्थलका रूपमा काम गर्न सक्छ । साहित्यिक पर्यटनका हिसाबले शिखर कटेरीको विकासले तनहुँको पर्यटन उद्योगलाई समेत टेवा पुर्याउन सक्छ । पर्यटकहरूका लागि साहित्यिक यात्रा प्याकेजहरू तयार पार्न सकिन्छ । डुम्रेबाट शिखर कटेरीसम्मको यात्रा, संग्रहालय अवलोकन, स्थानीय बस्तीको अध्ययन, स्थानीय भोजनको अनुभव, सांस्कृतिक कार्यक्रमहरूको आयोजना आदिले साहित्यिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ ।
साहित्यिक यात्राले साहित्यकारहरूको मनोभावना, सिर्जनात्मकता र रचनात्मक सोचमा सकारात्मक प्रभाव पार्दछ । शिखर कटेरीमा पुगेपछि साहित्यकारहरूले भानुभक्तको जीवन, घासीसँगको भेट, घासीले दिएको प्रेरणा, भानुभक्तको सामाजिक चेतना आदिबारे थप अध्ययन गर्न सक्छन् । यस्ता अध्ययनहरूले साहित्यकारहरूलाई आफ्ना लेखनहरूमा नवीनता र गहिराइ थप्न सहयोग पुर्याउँछ । त्यसैगरी, शिखर कटेरी क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक धरोहरहरूको संरक्षण र प्रबद्र्धनको आवश्यकतामाथि पनि विशेष ध्यान दिनु आवश्यक छ। शिखर कटेरीको प्राचीन वास्तुकला, ग्रामीण जीवनशैली, प्राकृतिक स्रोतसाधन आदिको संरक्षण गर्दा भविष्यका पुस्ताले पनि यी धरोहरहरूको महत्त्वलाई बुझ्न र अनुभव गर्न सक्नेछन् ।
साहित्यकार, शोधकर्ता र पर्यटकहरूका लागि शिखर कटेरीमा साहित्यिक, ऐतिहासिक र सांस्कृतिक कार्यशालाहरूको आयोजना गरिनुपर्छ । यसले केवल साहित्यिक अध्ययन र अनुसन्धानलाई मात्र प्रवर्द्धन गर्दैन, स्थानीय पर्यटन व्यवसायलाई पनि आर्थिक रूपमा सशक्त बनाउन सक्छ । यसरी, भानु संग्रहालय र शिखर कटेरीको साहित्यिक महत्त्वलाई उजागर गर्दै साहित्यकारहरूको प्रेरणाको स्रोतका रूपमा स्थापित गर्न सकेमा नेपाली साहित्य र संस्कृतिको जगेर्ना गर्न सकिनेछ । साथै, यस क्षेत्रलाई साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्थानीय तह र पर्यटन मन्त्रालयले विशेष ध्यान दिनुपर्छ ।










