भानुको खहरेमा १ करोड ५० लाखको आधुनिक स्वास्थ्य चौकी सञ्चालन

भानु : तनहुँको भानु नगरपालिका–३ खहरेमा आधुनिक स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकी सञ्चालनसंगै तनहुँ, गोरखा र लमजुङका सीमावर्ती क्षेत्रका बासिन्दाले अब सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको आधुनिक भानु स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि तीन जिल्लाका हजारौं नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमअनुसार सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको भवनको शनिबार भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरी सेवा सुचारु गरिएका थियो ।
नगरप्रमुख त्रिपाठीले आधुनिक पूर्वाधारसँगै अब ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारको बलियो आधार तयार भएको बताए। उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँमै सहज, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यअनुसार पूर्वाधार निर्माण गरिएको बताए ।
भानु नगरपालिका–३ का वडा अध्यक्ष तुलकुमार गुरुङका अनुसार स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका आठवटै वडा, गोरखाको पालुङटार नगरपालिका तथा लमजुङको राइनास नगरपालिकाका सीमावर्ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
‘यसअघि सामान्य उपचार र औषधिका लागि पनि टाढाका अस्पताल धाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘अब तीन जिल्लाका नागरिकले आफ्नै पायक पर्ने स्थानमा स्वास्थ्य सेवा पाउनेछन् ।’
नगर उपप्रमुख उमा गोतामेले नयाँ भवन सञ्चालनमा आएपछि मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित खोप, प्रयोगशाला सेवा तथा आधारभूत स्वास्थ्य उपचार थप प्रभावकारी र भरपर्दो हुने विश्वास व्यक्त गरिन ।
स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले नयाँ भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बनाउने बताए । उनका अनुसार पर्याप्त भौतिक पूर्वाधार भएपछि स्वास्थ्यकर्मीलाई पनि सेवा विस्तार गर्न सहज हुने भएको छ ।

छ परिवारको दानले सम्भव भयो भवन निर्माण

आधुनिक स्वास्थ्य चौकी निर्माणको अर्को प्रेरणादायी पक्ष स्थानीयवासीको योगदान हो। उपचारको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय छ परिवारले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण गरिएको हो । स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक जितेन्द्र श्रेष्ठका अनुसार भवन निर्माणका लागि स्थानीयवासीले तीन करोड २४ लाख २५ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने पाँच रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
जग्गादातामा बालकृष्ण कार्की–राममाया कार्की, विष्णुबहादुर कार्की पन्त–सरिता कार्की पन्त, ज्ञानबहादुर गुरुङ–वीरमाया गुरुङ, दुर्गबहादुर गुरुङ–रनकुमारी गुरुङ, स्वर्गीय लालबहादुर श्रेष्ठकी धर्मपत्नी जगकुमारी श्रेष्ठ तथा रामबहादुर गुरुङ–सुनकोरी गुरुङ रहेका छन् । उनीहरूको योगदानको कदर गर्दै उद्घाटन समारोहमा शिलालेख अनावरण गरी सम्मान गरिएको थियो ।

दुर्घटनाका घाइतेलाई पनि तत्काल उपचार

डुम्रे–बेँसीसहर सडकखण्डसँगै स्वास्थ्य चौकी रहेकाले अब सडक दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । यसअघि दुर्घटनापछि प्राथमिक उपचारका लागि समेत टाढा लैजानुपर्ने अवस्था रहेकामा नयाँ स्वास्थ्य चौकी सञ्चालनसँगै उद्धार र उपचार दुवै प्रक्रिया छिटो हुने स्थानीयले विश्वास गरेका छन् ।
स्थानीयका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने मात्र होइन, गाउँमै उपचार पाउने विश्वाससमेत बढेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker