स्थानीयलाई आत्मनिर्भर बनाउन म्याग्देले सीपमुलक तालिम सञ्चालन गर्दै

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालीकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम कार्यक्रम संचालन गर्ने भएको छ । रोजगारीको अभावमा सीप सिकेर आम्दानी गर्न स्थानीय युवायुवतिहरूको मागपछि गाउँपालिकाले उक्त कार्यक्रम संचालनमा ल्याउन लागेको हो ।
गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत विभिन्न सीपमुलक तालिमहरू संचालन गर्ने योजना बनाएको छ। यसमा क्रिष्टलका गहना बनाउने, हार्पिक, फिनेल, झोल सावुन उत्पादन, कफि (वारिष्ठा) प्रशोधन, कला संस्कृति संरक्षणका लागि पञ्चे बाजा बजाउने, कुकिङ, होमस्टे व्यवस्थापनजस्ता तालिमहरू समावेश गरिएका छन् ।
गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८१÷०८२ मा वडा नं ३, ४, ५ र ६ का ७५ जनालाई सीपमुलक तालिम दिने लक्ष्य राखिएको छ । उनले भने, ‘लघु घरेलु तथा साना उद्योगहरूलाई कम लागतमा सिपको माध्यमबाट संचालन गर्न सकिने भएकाले बेरोजगार युवाहरूको आकर्षण यसतर्फ बढ्दै गएको छ ।’
मेड्पा कार्यक्रमअन्तर्गत सीप सिकाउन अघि उद्यमी बन्न इच्छुकका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशीलता विकास तालिम पनि संचालन भइरहेको न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानीय आर्थिक विकासलाई प्रवर्द्धन गर्न चालु आर्थिक वर्षमा नवप्रवर्द्धन र वृद्धिमुखी उद्यमशीलता कार्यक्रमहरू संचालन गरिने बताए । उनले भने, ‘स्थानीय स्तरमा आर्थिक गतिविधि वृद्धि गरी आर्थिक विकास प्रवर्द्धन गर्ने, नवप्रवद्र्धनको अवधारणालाई अवलम्बन गर्दै दिगो आर्थिक विकासमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो ।’
यसैबीच, युवाहरूलाई व्यवसायप्रति आकर्षित गर्न म्याग्दे गाउँपालिकाले ‘बिजनेस स्टार्टअप कन्फरेन्स’ समेत सम्पन्न गरिसकेको छ । आर्थिक विकास शाखा प्रमुख न्यौपानेका अनुसार, युवाहरूको माग र चाहनाका आधारमा तालिम तथा प्रवर्द्धनात्मक कार्यलाई प्राथमिकता दिइएको छ ।’
तालिमबाट स्थानीय तबरमा आर्थिक क्रियाकलाप बृद्धि गरी आर्थिक विकास प्रवर्द्धन गर्ने, आर्थिक विकासमा नबप्रवर्द्धनको अवधारणालाई अवलम्वन गर्ने, समावेशी र दिगो स्थानीय आर्थिक बृद्धिको प्रवर्द्धन गर्ने, अन्तर स्थानीय तहमा नबीनता असल अभ्यास र सिकाई आदान प्रदान गर्ने, स्थानीय आर्थिक विकासका क्रियाकलापमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्ने लक्ष्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।










