ऋषिङ गाउँपालिका : शैक्षिक गुणस्तर अभिवृद्धिका लागि “हाम्रो विद्यालय राम्रो विद्यालय” अभियान

ऋषिङ गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासका साथै गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि विभिन्न कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाएको छ । गाउँपालिकाले समग्र शिक्षा क्षेत्रको विकासका लागि सबैको अपनत्व स्थापित गर्नका लागि ‘हाम्रो विद्यालय राम्रो विद्यालय’को अवधारणालाई आत्मसाथ गर्दै यस अभियानलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
यस अभियानबाट शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय विच प्रतिस्पर्धा गरी उत्कृष्टलाई प्रोत्साहन गर्ने नीति लिइएको छ भने सबैको सहभागिताबाट विद्यालयहरुमा विद्युतीकरण, इन्टरनेट जडान र विद्युत्तीय हाजिरिलाई नियमित तथा व्यवस्थित गर्दै प्रविधिमैत्री विद्यालयका रुपमा विकास गर्ने योजना बनाइएको अध्यक्ष श्रेष्ठले बताए ।
‘विद्यालय शिक्षालाई व्यवहारिक, प्रविधि र सीपयुक्त बनाउनका लागि उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम, छात्रावृत्ति वितरण कार्यक्रम र एसइई दिने विद्यार्थीलाई निःशुल्क कोचिङ्गको व्यवस्था, विद्यालय शिक्षामा मोबाइल, कम्प्युटर लगायतका आधुनिक इलेक्ट्रिकल सामाग्री मर्मत सम्भार सम्बन्धी विषयको अध्यापनमा जोड दिएको छ’, उनले भने, ‘गाउँपालिका भित्रका विद्यालयबाट कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई निःशुल्क आयोग तयारी कक्षा सञ्चालन, वडा नं. ८ स्थित शिव सरस्वति माध्यमिक विद्यालयमा भेटेरिनरी शिक्षालाई थप व्यवस्थित गर्दै त्यहाँबाट उत्पादित जनशक्तिलाई सम्बन्धित क्षेत्रको काममा लगाउने वातावरण निर्माणमा सहजीकरण गर्दै आइएको छ ।’
गाउँपालिकाका बालबालिकाहरुलाई विद्यालय शिक्षा यसै गाउँपालिकाका सामुदायिक विद्यालयहरुबाट पूरा गराउने तथा आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन सामुदायिक विद्यालयहरुबाट एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने १५ जना विद्यार्थीहरुलाई कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गर्नका लागि विषेश छात्रावृत्तिको व्यवस्था मिलाइएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘विद्यालयमा महिला शिक्षक सुत्केरी भएको अवस्थामा विद्यालयको शैक्षिक क्षति परिपुरणका लागि ५० प्रतिशत अनुदानमा वैकल्पिक शिक्षक व्यवस्थापन गर्ने वातावरण मिलाइएको छ । विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने खालका विविध अतिरिक्त क्रियाकलाप सञ्चालन, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई व्यवस्थित गरी विद्यार्थी लक्षित खेलकुदका थप कार्यक्रमहरु सञ्चालन, बालविकास केन्द्रलाई प्रभावकारी र व्यवस्थित गर्न बालकक्षा सहजकर्तालाई तालिम, मगर भाषाको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माण तथा गाउँपालिकामा मगर भाषालाई कार्यालयको कामकाजको दोस्रो भाषाको रुपमा मान्यता दिने गरी अगाडि बढेका छौ ।’
यस्तै, “अध्यक्ष शैक्षिक सुधार कार्यक्रम” सञ्चालन, पञ्चवर्षीय शैक्षिक योजना निमार्ण गरी वर्तमान शैक्षिक अवस्थामा योजनावद्ध सुधारका प्रयास अगाडि बढाइएको छ । शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनमा थप प्रभावकारीता ल्याउने र सार्वजनिक लाभको पद धारण गरेका व्यक्तिका छोरा छोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन अभिप्रेरित गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यसम्पादनमा आधारित अनुदान, छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण, शिक्षण सिकाइ सामाग्री व्यवस्थापन, विज्ञान प्रयोगशाला, आईसिटी ल्याब व्यवस्थापन अनुदानका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, साथै विद्यालयहरूमा महिनावारी भएका छावाहरुलाई विश्राम कक्षाको व्यवस्था मिलाउन सञ्चालन गरिएको “उपाध्यक्षासंग छात्रा” कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रत्येक विद्यालयमा प्रथामिक उपचार सामाग्री सहितको उपचार कक्षा व्यवस्थापन र प्राथमिक उपचारको सम्बन्धमा शिक्षकहरुलाई तालिम प्रवन्ध मिलाउँदै लगिएको छ ।
गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले आफूले पाउने मासिक सुविधाको रकम मध्ये एक महिनाको सेवा सुविधा संकलन गरी त्यसको एकमुष्ट रकमबाट सामुदायिक विद्यालयहरुमा वर्षेनी अक्ष्यकोष स्थापना गर्ने नीति ल्याइएको र सो अक्षयकोषबाट प्राप्त हुने व्याज बापतको रकमबाट सम्बन्धित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्ति तथा पठनपाठन सहायता स्वरुप उपलब्ध गराउने प्रबन्ध मिलाउँदै लगिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
यस्तै, गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतको पाटो कम्जोर भएकाले अपेक्षित रुपमा शिक्षा क्षेत्रमा लगानि बढाउन नसक्ने अवस्था रहेको छ । समयसापेक्षा व्यवहारिक, प्राविधिक तथा सीपयुक्त शिक्षा प्रदान गरी विद्यालय तहबाटै दक्ष शिक्षित जनशक्ति उत्पादन गर्ने लक्ष्य भएपनि भौगोलिक बिकट्ता, आर्थिक स्रोतको अभाव, विद्यालयहरुमा विषयगत दक्ष जनशक्तिको अभाव, प्रयाप्त शिक्षक दरबन्दीको अभावका साथै घट्दो विद्यार्थी संख्या जस्ता विभिन्न समस्याहरु झेल्नुपरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

शैक्षिक पूर्वाधार सुधार र सीपयुक्त शिक्षालाई प्राथमिकता

ऋषिङ गाउँपालिकामा ४१ सामुदायिक र २ संस्थागत गरी हाल ४३ वटा विद्यालय रहेका छन् । प्राविधीक शिक्षा अन्तरगत वडा नं. ८ को शिव सरस्वती माध्यमिक विद्यालयमा सिटिइभिटीको १८ महिने पशुविज्ञान (भेटेरिनरी) विषयको पढाइ हुने गरेको छ । गाउँपालिका भित्रका विद्यालयहरुमा छात्रा १ हजार ७४६ र छात्र १ हजार ६०६ जना गरी ३ हजार ४७३ अध्यनरत छन् ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि “हाम्रो विद्यालय, राम्रो विद्यालय” कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउँदै लगेको छ । विद्यालयमा शैक्षिक पूर्वाधारमा सुधार, बालमैत्री, प्रविधिमैत्री सिकाईयुक्त वातावरण, शान्त र हरित विद्यालयको विकास गर्ने योजनाका लागि गाउँपालिका अगाडि बढेको छ । पालिका मातहतका विद्यालय तथा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सूधार गर्न गाउँपालिकाको अनुदानमा निःशुल्क एसइई तयारी कक्षा सञ्चालन, सबै माध्यमिक विद्यालयमा निःशुल्क कम्तिमा २ महिना अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थीको सिकाईको स्तर र गुणस्तर अभिवृद्धि योजनाका साथ अगाडि बढेको गाउँपालिकाका शिक्षा
शाखा प्रमुख शुवासचन्द्र रानाभाटले जानकारी गराए ।
गाउँपालिकाले स्थानीय विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नीति, योजना र कार्यक्रममार्फत बहुआयामिक सुधार अभियान सञ्चालन गरिरहेको छ । शिक्षा शाखा प्रमुख रानाभाटका अनुसार विद्यार्थीको मनोबल, आत्मविश्वास र सिकाइ सुधार गर्न पालिका स्तरीय शैक्षिक क्यालेन्डर, प्रधानाध्यापक मासिक बैठक, अतिरिक्त क्रियाकलाप, तथा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम सञ्चालनमा छन् । महिनावारी भएका छात्राको सहजताका लागि ‘छात्रा आराम कक्ष’ स्थापना, निःशुल्क स्यानिटरी प्याड वितरण, र नियमित स्वास्थ्य तथा सरसफाइ कार्यक्रममार्फत बालमैत्री वातावरण सिर्जना गरिएको छ। शैक्षिक प्रगति मापन गर्न कक्षा ३, ५ र ८ मा सिकाइ उपलब्धि परीक्षा सञ्चालन गरिन्छ भने उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई औपचारिक रूपमा सम्मान गरिन्छ ।
विद्यालयमा विद्युतीय उपकरण, ल्यापटप, इन्टरनेट र पुस्तकालय व्यवस्थापन गर्दै प्रविधिमैत्री शिक्षा प्रवाह भइरहेको छ। शिक्षक क्षमता अभिवृद्धिका लागि तालिम, विषयगत समुह र अनलाइन अन्तरक्रिया चलाइएको छ । तर, पालिकामा विषयगत शिक्षकको अभाव, दरबन्दी असन्तुलन, शिक्षण सहजीकरण कमजोर हुनु, प्रविधिको पहुँच अभाव, र बजेटको सीमितता जस्ता चुनौती अझै छन्। प्राथमिक तहमा शिक्षक बढी भए पनि माध्यमिक र निम्नमाध्यमिक तहमा दरबन्दी अपुग रहेको प्रमुख रानाभाटको भनाइ छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा संघीय र प्रदेश सरकारको अनुदानसहित करिब १९ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको छ। विद्यालयको भौतिक संरचना, स्वास्थ्य सुरक्षा, शिक्षण सामग्री र व्यवस्थापन सुधारका कार्यक्रमहरू समेत प्राथमिकतामा राखिएको छ । शैक्षिक गुणस्तर वृद्विका लागि शिक्षकहरुको व्यवसायिक विकास र क्षमता अभिवृद्धि गर्नका लागि विषयगत शिक्षक समूह गठन र म्यासेन्जर ग्रुप निर्माण गरी विषयगत विषयमा छलफल, अन्तरक्रिया र परिचालन, आइटी स्रोत शिक्षकका लागि सूचना प्रविधी सम्बन्धी तालिम, प्रारम्भिक बाल विकास सहजकर्ताका लागि सिकाई सामाग्री निर्माण सम्बन्धी तालिम, एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज्ड तालिम, राम्रो शैक्षिक वातावरण तयार गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम, कर्तव्य तथा अधिकार र अन्तरसम्बन्धित विषयमा सूसुचित गराउने र जागरण ल्याउन क्षमता विकास तालिम सञ्चालन गरिदै आइएको छ ।
गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम अन्तर्गत ReAL Plan कार्यान्वयन सम्बन्धी, Disabilities Screening In School, EMIS and SAS, SIP Formulation and Implementation, Social Audit, कार्यमूलक अनुसन्धान गर्न लगाउने, शिक्षा तालिम केन्द्रसंग समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयका भौतिक संरचना र स्रोत साधन सूधारका कार्यक्रम अन्तर्गत गाउँपालिकाले उपयुक्त कक्षाकोठा र भवन निर्माण, विद्यालय घेराबार र गेट निर्माण, सुरक्षित खानेपानी र शौचालय मर्मत संम्भार र निर्माण, आवश्यक फर्निचर र विद्यार्थी बसाई व्वस्थापनमा सूधार, विद्युत र ईन्टरनेट व्यवस्थापनमा जोड, विद्यालयमा पुस्तकालय, विभिन्न विषयगत प्रयोगशाला व्यवस्थापनमा प्रयास, विद्यालयमा प्राथमिक उपचार कक्षको व्यवस्थापन लगायतका कार्यक्रम गर्दै आएको छ ।
शिक्षको गुणस्तर, शैक्षिक मूल्याङ्कन, विद्यार्थीको शैक्षिक उपलब्धी र परिमाणमा सूधारका लागि गाउँपालिकाले विद्यालयहरुमा दरबन्दी मिलान र पुनरावलोकन गर्ने, विद्यार्थी संख्या अति न्यून भएका विद्यालय समायोजन, Class and level downsize गरी आवश्यक विद्यालयमा तहगत र विषयगत शिक्षक व्यवस्थापन गर्ने प्रयास गरिएको छ ।
प्रधानाध्यापकहरुको मासिक बैठकमा विद्यालयले गरेका फरक र राम्रा असल अभ्यासहरु, शैक्षिक गतिविधीहरु आदानप्रदान गर्ने, रचनात्मक पृष्ठपोषण प्रदान गर्ने कार्यको थालनी गरेको गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ तथा प्राविधीक शिक्षा डिप्लोमा तह अध्ययन गर्न लागेको पूरा शुल्क प्रदान गर्ने गरेको शिक्षा प्रमुख रानाभाटले जानकारी गराए ।
यस्तै, दिवा खाजा, छात्रवृत्ति वितरण र छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण जस्ता कार्यक्रमको कार्यान्वयन गर्दै आएको छ । कक्षा ३, ५ र ८ को सिकाईको स्तर मापन गर्न सिकाई उपलब्धी परीक्षा सञ्चालन गरी विद्यार्थीले यस नतिजाबाट आफ्नो स्तर र क्षमता पत्ता लगाई सूधार गर्न पृष्ठपोषण र अवसरको मार्ग प्रदान गर्दै आइएको छ । कक्षा १–३ को एकीकृत पाठ्यक्रमको मूल्याङकन प्रणाली अनुसार विद्यार्थी सिकाई मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारि कार्यान्वयनका लागि विद्यालयसंगको समन्वय र सहकार्यमा मूल्याङ्कन अभिलेख पुस्तिका वितरण र कार्यान्वयन गर्दै लगिएको छ । कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा एसइईको मोडालिटीमा सञ्चालन, पुस्तिका परीक्षण र नतिजा प्रकाशन गर्ने गरिएको छ भने विद्यार्थी सिकाईको आन्तरिक मूल्याङ्कनका लागि तोकिएको मापदण्डको कार्यान्वयन, परियोजना कार्य लगायतको व्यक्तिगत फाईल तयार गरी मूल्याङ्कन गर्न विद्यालयलाई सहयोग सहित निर्देशन गर्ने गरिएको छ । सबै कक्षामा अध्ययनरत प्रत्येक विद्यार्थी र अभिभावकलाई अनिवार्य विद्यार्थी प्रगति विवरण (ग्रेड सीट) सहित जानकारी गराउने गरिएको छ ।
विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री बाउनका लागि गाउँपालिकाले हाल सम्म चार वटा विद्यालयमा Digital Interactive Board व्यवस्थापन, जडान र शैक्षिक प्रयोग (शुक्ला मा.वि., बाल शिक्षा निकेतन मा. वि., शिव सरस्वती मा.वि. र धर्म आ.वि.) गरिएको छ भने, “एक विद्यालय, एक ल्यापटप” वितरण, विद्यालयमा विद्युत र इन्टरनेट जडान कार्य प्राथमिकतामा राखिएको छ भने आईसिटी ल्याब, ई–लाइबेरी व्यवस्थापनमा जोड दिइदै लगिएको छ । राम्रो शैक्षिक वातावरण तयार गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम, कर्तव्य तथा अधिकार र अन्तरसम्बन्धित विषयमा सू–सुचित गराउने र जागरण ल्याउन क्षमता विकास तालिम गर्नुका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट प्र.अ. तथा शिक्षक, विद्यालय, वि.व्य. स., शिक्षक अभिभावक संघ, शिक्षा समितिका पदाधिकारी र अभिभावक समेतलाई औपचारिक समारोह कार्यक्रम गरी सम्मान तथा पुरस्कृत गर्दै आइएको छ ।
शिक्षा क्षेत्रमा लगानी र बजेट व्यवस्थापनका लागि गाउँपालिकाको आन्तरिक स्रोत कम्जोर रहेको हुँदा संघीय सरकारको अनुदान (शसर्त, समपूरक र विशेष) प्रदेश सरकार र गाउँपालिकाको आन्तरिक आयस्रोतबाट नै व्यवस्थापन गरिएको छ । विद्यालयमा विभिन्न व्यक्ति, समूह, क्लब, दाताहरुबाट समेत केही सहयोग हुने गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि पालिकाको शिक्षा क्षेत्रको कुल बजेट १८ करोड ९७ लाख रुपैयाँ रहेकोमा पालिकातर्फको शिक्षा क्षेत्रको बजेट (ससर्त बाहेक) २ करोड ३८ लाख रुपैयाँ रहेको छ । हाल यस पालिकाका ११ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेकोमा ३ वटा माध्यमिक तह सञ्चालित विद्यालयमा बाहेक अन्य सबै माध्यमिक विद्यालयमा पूर्ण रुपमा विषयगत दरबन्दी छैन । यस्ता आठ विद्यालयहरु मध्ये पाँच वटा विद्यालयमा माध्यमिक तहको शुन्य दरबन्दी रहेको भएता पनि हाल प्रत्येक विद्यालयमा अंग्रेजी गणित र विज्ञान विषयका शिक्षक शिक्षण सहयोग अनुदान, संघीय सरकारको शसर्त अनुदान कोटा प्राप्त भई शिक्षक व्यवस्थापन भएको छ । आधारभूत तह कक्षा ६–८ सञ्चालित भएका विद्यालयको अवस्था पनि उस्तै रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker