चेपाङ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रि
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका दुइ चेपाङवस्तिका बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामाग्रि उपलब्ध गराइएको छ । रोटरी क्लब अफ दमौलीले सोमबार चरम आर्थिक अभावबाट गुज्रिएका व्यास नगरपालिका-११ स्थित राम्चे र भानु नगरपालिका-६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई उक्त सामाग्रि उपलब्ध गराएको हो ।
तनहुँबाट प्रकाशित हुने भञ्याङ राष्ट्रिय दैनिकमा चेपाङ बालबालिका र समग्र चेपाङबस्तीको अवस्था बारे लेखिएको समाचारको प्रभावले दुइवटा विद्यालयमा अध्ययनरत बालबालिकाले सहयोग प्राप्त गरेका हुन् ।
राम्चे स्थित सुर्योदय प्राथमिक विद्यालय र मान्द्रे स्थित कालिका प्राथमिक विद्यालयमा पढने आर्थिक विपन्नता भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र व्यक्तिगत सरसफाइ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले बताए ।
बालबालिकाहरु आधारभूत आवश्यकताबाटै बञ्चित भएको खबर पत्रिकामा पढेपछि जानकारी भयो र त्यस विषयमा क्लबले छलफल गरी सबै सदस्यहरुबाट सहयोग जुटाएर ६९ जना बालबालिकालाई सहयोग गरिएको कार्यक्रमका संयोजक एवं क्लबका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले बताए ।
सुर्दोदयका ३२ जना बालबालिका सबैलाई र कालिकाका ६१ जना मध्ये आर्थिक अवस्था कमजोर भएका ३९ जना बालबालिकालाई ट्रयाक सुट, कापी, कलम, ब्रश, मन्जन, साबुन लगायतका सामग्री सहयोग गरिएको उनले बताए । आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष गरी चेपाङवस्तीका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताए ।
‘क्लबमा आवद्ध सदस्यहरुले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरेको हो’, उनले भने, ‘विश्वमा पोलियो उन्मुलन, सारक्षरता दर वृद्धि, आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचलाई केन्द्रमा राखेर रोटरीले कार्यक्रम गर्दै आएको छ । पोख्रेलले भने ‘यो धन भन्दा पनि मन ठुलो भएकाहरुको समाजिक संस्था हो, हामी त्यस्तै दुःख, अभाव र पीडामा मलम लगाउन एकीकृत भएका हौं ।’
गास, बास र आवासकै लागि संघर्ष गरी रहेका चेपाङबासीहरुको अवस्था सुधारका लागि रोटरीले स्थानीय सरकारसंग समन्वय गरी निरन्तर पहल गर्ने योजना समेत बनाएको छ । आम्दानीको कुनै भरपर्दो स्रोत नहुँदा ज्याला मजदुरीकै भरमा बिहानबेलुकीको छाक टार्दै आएका चेपाङहरुको अवस्था सुधारका लागि कुनै ठोस योजनाका साथ अघि बढ्ने क्लबका निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए।
स्थानीय सरकारसंग समन्वय गरी त्यस ठाउँका बासिन्दामा चेतनाको स्तर वृद्धि, आर्थिकस्तर उकास्न सीपमुलक तालिम, सरसफाइ लगायतका पक्ष सुधारका लागि रोटरीले क्लबमा छलफल गरी आगामी कार्यक्रम अगाडी बढाउने योजना रहेको उनले बताए ।

यस्तै, न्यानो कपडा अभावमा बालबालिकाहरु कठांग्रिदै विद्यालय आउने गरेको कालिका प्राथमिक विद्यालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । कतिपय बालिकाहरुलाई नियमित बिद्यालय आउन समेत समस्या परिरहेको अवस्थामा क्लबले गरेको सहयोग अति उपयोगी सिद्ध भएको श्रेष्ठले बताए। यसले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पठनपाठनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
ज्याला मजदुरीकै भरमा दैनिक गुजारासंगै आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्ने बाध्यता रहीआएकाले अभिभावकले बालबालिकालाई अति सामान्य सुविधा पनि दिन नसकेको स्थानीय गोकुल दुराले बताए ।
शरिरमा एक सरो कपडाको भरमा खाली खुट्टा विद्यालय आउनुपर्ने सो ठाउँका बालबालिकाहरुको बाध्यता छ । गाउँमा सरसफाइको अवस्था ज्यादै नाजुक छ । सोही अवस्थालाई मध्येनजर गरी क्लबले आजै व्यक्तिगत सरसफाइको आधारभूत ज्ञान पनि बालबालिकालाई प्रदान गरेको थियो । साबुन पानीले हात धुने तरिका, मुख, दाँत कपाल, नङ लगायत शरिरका अंगहरुको सरसफाइ गर्ने तरिका बारे बालबालिकालाई प्रशिक्षण पनि दिइएको क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुङले बताए । साथै बालबालिकालाई व्यक्तिगत सरफाइका लागि आवश्यक पर्ने सामग्री पनि प्रदान गरिएको थियो ।
चेपाङ गाउँका अधिकांश बालबालिकाले मंजन र ब्रस आफुहरुलाई नयाँ भएको समेत सुनाए । कालिका प्राविमा कक्षा ५ मा अध्ययनरत चन्द्र कुमारीले भनिन्, ‘त्यसको प्रयोग मैले आजसम्म गरेको छैन । सिकेको कुरा आजैबाट लागु गर्छु ।’
सुर्योदयका ३२ जना विद्यार्थीमा चेपाङ समुदायका मात्र २६ जना छन् भने कालिकाका ६१ जनामा १६ जना चेपाङ बालबालिका छन् । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रामनाथ भट्टराइ, महेन्द्रकुमार श्रेष्ठ, इमकुमार मल्ल, सुर्जाकुमार मल्ल, दामोदर भण्डारी, प्रेसिडेन्ट इलेक्ट रमेश श्रेष्ठ, कोषाध्यक्ष किनकुमार मल्ल, सदस्य नारायण मल्ल लगायतले चेपाङ समुदायको अवस्थाका विषयमा जानकारी लिई आगामि दिनमा उनिहरुको अवस्था सुधारमा अभियान चलाउने प्रतिवद्धता जनाएका थिए ।










