गृहजिल्ला आएर राष्ट्रपति पौडेलले भने, ‘रोजगारी र आम्दानी नहुँदा गाउँमा मानिस बसेनन्’
भञ्ज्याङन्यूज

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोह उद्घाटन राष्ट्रपति पौडेल गृहजिल्ला आएका हुन् ।
विद्यालयको शतवार्षिकी समारोह उद्घाटन गर्दै उनले गाउँमा विकास र सुविधा पुगे पनि रोजगारी तथा आम्दानी नहुँदा मानिस नबसेको बताएका छन् ।
‘गाउँमा विकास पुग्न थाले पनि उपभोग गर्ने मानिस कोही नहुने हुन् कि भन्ने चिन्ता देखिएको छ’, उनले भने, ‘गाउँमा विकासका सबै पूर्वाधार पुगेका छन् तर, उपभोग गर्ने कोही नहुने अवस्था आएको छ ।’

गाउँमा बिस्तारै विकास पुगे पनि सम्मानजनक रोजगारीको अवस्था भने नरहेको बताउँदै उनले भने, ‘गाउँमा बिस्तारै सुविधा पुगेको छ । विकास भइरहेका पनि छन् तर सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही नरहने हुनकि भन्ने चिन्ता बढ्दै गएको छ ।’
‘गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था नै छैन’, राष्ट्रपति पौडेलले भने, ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्छ ।’
राष्ट्रपति पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति बनेपछि पौडेलको दोस्रो पटकको गृह जिल्ला आइपुगेका हुन् । यस अघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँको दमौली आएका थिए ।










