गणतन्त्र दिवसका अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला

तनहुँको व्यासनगरपालिकाले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । १८औँ गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयकी साक्षी वाग्ले प्रथम, आदिकवि माध्यमिक विद्यालयकी अर्पणा तिवारी द्वितीय, गोरखकाली आवासीय माविकी जेसिका पाण्डे तृतीय र सर्वज्योति माविकी रोशनी गुरुङ, रामज्योति बोर्डिङ स्कुलकी सशिता केसी सान्त्वना भएका छन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। नयाँ नेपालको आवश्यकताः सुशासन र सदाचार संस्कृतिमा प्रतिबद्धता विषयक प्रतियोगितामा २० विद्यालयको सहभागिता रहेको थियो।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मुलुकमा सुशासन र सदाचारको खडेरी परेको बताए।
उनले सम्भावित अनियमित र अनैतिक कार्य हुन नदिन सबैले कानुनको पालना, पारदर्शिता, सही आचारसंहिता निर्माण र कार्यान्वयनमा जोड दिए । मुलुकको बेथिति र विसंगति चिर्न भविष्यका कर्णधार बालबालिका जिम्मेबार भूमिका निर्वाह गर्नु पर्ने बताए साथै न्यौपानेले वक्तृत्वकला जस्ता प्रतियोगिताले बालबालिकाको क्षमता वृद्धिमा सहयोग गर्ने हुँदा यस्ता कार्यक्रम सम्पूर्ण विद्यालयले कम्तिमा पनि महिनाको एकपटक सञ्चालन गर्नुपर्ने बताए ।










