स्वदेशी महले पाएन बजार

भञ्ज्याङ समाचारदाता/चितवन

जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुइ हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गतआवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन् । उहाँले भन्नुभयो, “बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ ।” कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उहाँले जानकारी दिनुभयो ।

चरनको अभाव र बिदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।” विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो\।” आयातित महले नेपाली बजार भरिएको भन्दै उहाँले थप्नुभयो, “विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।”

नेपालमा वार्षिक चार हजार दुइ सयदेखि चार हजार पाँच सय मेटि्रक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुइ हजार मेटि्रक टन मह गोदाममा थन्किएको उहाँले बताउनुभयो । गत वर्षको एक हजार पाँच सय मेटि्रक टन मह अझै बिक्री हुन नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटामुनि मह राख्नुपरेको छ ।”

आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने उहाँले बताउनुभयो । खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको उहाँको भनाइ छ । ब्राण्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेको उहाँको भनाइ छ ।

आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उहाँले गुनासो गर्नुभयो । मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

महासंघले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले मह पोख्ने र मौरी उडाउने कार्यक्रम गर्न दबाब दिइरहेका छन् । तर हामी चरणबद्धरूपमा अघि बढ्ने योजनामा छौँ ।” नेपालमा दुइ जातका मौरी पालिँदै आइएको छ । एक लाख ६० हजार घार मेरीफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker