गत बुधबारदेखि हराएका दमौलीका क्या. तारा मल्लको शव भेटियो

दमौली : तनहुँको व्यास नगरपालिका–२ कालिकामार्ग निवासी क्या. तारा मल्लको शव भेटिएको छ । गत बुधबार बिहानदेखि हराएका मल्लको आज शुक्रबार साराङघाटस्थित सेती नदीमा डुबिरहेको अवस्थामा शव भेटिएको हो ।
गत बुधबार मर्निङ वाकमा निस्किएका मल्ल व्यास–२ स्थित शान्ति नगर र पाटन जोड्ने मादी नदीको झोलुङ्गे पुलबाट वेपत्ता भएको अनुमान गरी खाजीकार्य तीब्र पारिएको थियो । दुई दिनसम्म शान्ति नगरस्थित मादी नदीमा गोताखोर परिचालन गरी खोजी गरिएता पनि भेटिएको थिएन् ।
एकाएक वेपत्ता भएका मल्लको मोवाइल, चस्मा, टोपी लगायतका सामाग्रिहरु शान्तिनगरस्थित झोलुङ्गे पुलमा फेला परेको थियो । उनले प्रयोग गरेका सामाग्रि पुल नजिकै भेटिएपछि पुलबाट मादीनदीमा आम्फालेको हुनसक्ने आशंका गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमौली बजारबासीले खोजी कार्य अगाडि बढाएका थिए ।
स्थानीय बासिन्दाका अनुसार बुधबार बिहान करिब ४ः३० बजेको समयमा झोलुङ्गे पुल आसपासको क्षेत्रमा नदीमा ठूलो आवाज आउनुका साथै पुल हल्लिएको आवाज सुनिएको बताएका थिए ।
खोजी कार्य गर्ने क्रममा शुक्रबार बिहानै छङ्गेली नेवाः खलको टोली साराङघाट, घुमाउनेघाट तर्फ खोजिका लागि गएको थियो । उनको खोजी कार्यका लागि गोताखोर सहितको टोली समेत खटिएको थियो । मृतक मल्ल विभिन्न सामाजिक क्षेत्रमा सक्रिय थिए ।