पदयात्रामा रमाउँदै तनहुँसुर जाने कि ?
कृष्ण न्यौपाने (दमौली)

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेहरूका लागि तनहुँसुर इको ट्रेक उत्कृष्ट गन्तव्य बन्न सक्छ । केही समय अगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्ग पदयात्रा गर्न रुचि राख्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने देखिएको हो । व्यास नगरपालिका-११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले छोटो दूरीमा पदयात्रा गर्न चाहनेका लागि यो मार्ग उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । उहाँका अनुसार ६.५ किलोमिटर दूरीको उक्त पदमार्ग समुन्द्र सतहदेखि ४७० देखि एक हजार २४० मिटर उचाइमा अवस्थित छ ।
“प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेका थियौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय समुदायको समृद्धिमा सहयोग पुर्याउन पदमार्गले सहयोग पुग्नेछ ।” पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप, गद्दी चौतारा, बायस सिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करीब चार किमी मोटरयात्रा त्यसपछि चमेरेगुफा-भगवतीपानी मन्दिर-तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुरसम्म गढीसम्म पदयात्रा गर्न सकिनेछ । “नेपालकै प्राचीन स्मारकस्थलमध्येको एक तनहुँसुर पुग्नका लागि विभिन्न सडक मार्ग छन्, ती सडक निर्माण गर्ने क्रममा दर्जनौँ पर्यटकीय सम्पदाहरू नष्ट भएका छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसले गर्दा हजारौँको संख्यामा विभिन्न प्रजातिका वनस्पतिको क्षति भएको छ भने पुराना गामबेँशी गर्ने गोरेटो बाटाहरू लोप हुँदैछन् ।” ‘प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण, स्वस्थ शरीर स्वच्छ वातावरण’ भन्ने मूल मन्त्रका साथ सबै उमेर समूहका लागि छोटो र सहज यस पदयात्राले तनहुँसुरको पर्यटन प्रवर्द्धन तथा समृद्धिका लागि सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
पदयात्रा सञ्चालनपूर्व विगत केही महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन लगायत विषयमा प्रशिक्षण दिइँदै आएको थियो । पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुइवटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् ।
तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् । तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाहृय पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केबी थापाले जानकारी दिनुभयो । यहाँ ३० जना सम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।
यस्तै, पाल्पालीथोक, पत्यारथोक र गंगलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिनुभयो ।
तनहुँसुरको इतिहास
तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गी सेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्द सेनको मृत्युपरान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गी सेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गी सेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।
उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।
विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।










