जुमडाँडामा बन्दीपुर अस्पतालको गाउँघर क्लिनिक, २६ जनाले लिए सेवा

बन्दीपुर : तनहुँको बन्दीपुरस्थित बन्दीपुर अस्पतालले यही माघ महिनादेखि प्रत्येक महिनाको २५ गते बन्दीपुर वडा नम्बर ४ को सिफारिसमा जुमडाँडा क्षेत्रमा ‘गाउँघर क्लिनिक’ सञ्चालन सुरु गरेको छ ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त क्लिनिक अन्तर्गत आइतबार पहिलोपटक सेवा प्रदान गरिएको हो। पहिलो चरणमा सञ्चालन गरिएको गाउँघर क्लिनिकबाट २६ जना सेवाग्राही लाभान्वित भएका छन् ।
क्लिनिकसँगै सोही स्थानमा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम पनि सञ्चालन गरिएकोमा ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए ।
कार्यक्रम बन्दीपुर अस्पतालकी पब्लिक हेल्थ कार्यक्रम संयोजक सि.अ.न.मि. विमला पोख्रेल कट्टेल, नसर्ने रोग कार्यक्रम संयोजक सि.अ.हे.ब. लक्ष्मी ढकाल तथा कार्यालय सहयोगी रेशम पाटा मगरको सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।
अस्पतालले समुदायस्तरमै समयमै प्रवर्द्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवा प्रदान गर्दै रोगको रोकथाममार्फत स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै यस्ता कार्यक्रमहरू नियमित सञ्चालन गरिरहेको प्रमुख डा. गिरीले बताए । अस्पतालले गाउँघर क्लिनिकलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग आवश्यक सहयोग, समन्वय, सहजीकरण तथा रचनात्मक सुझाव प्रदान गर्न आग्रहसमेत गरेको छ ।

निःशुल्क बस सेवा
यस्तै, बन्दीपुर अस्पतालले निःशुल्क बस÷यातायात सेवा मार्फत पनि सेवाग्राहीहरूलाई लाभान्वित गराएको छ। अस्पतालले गत मंगलबार कुकुर्दीमा, बुधबार सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र शुक्रबार ती दुई स्वास्थ्य संस्थाबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क यातायात सेवा सञ्चालन गरिएको थियो ।
उक्त सेवाबाट कुकुर्दीबाट १३ जना र सुकौराबाट ११ जना गरी जम्मा २४ जना सेवाग्राही लाभान्वित भएको अस्पतालले जनाएको छ । सेवा लिनेहरूमा अधिकांश ज्येष्ठ नागरिक, विपन्न वर्गका नागरिक, सन्तान शहर–बजारमा रहेका कारण अस्पताल आवतजावत गर्न असहज भएका व्यक्तिहरू तथा स्वास्थ्य बीमा अन्तर्गत सेवा लिनुपर्ने सेवाग्राहीहरू रहेका थिए ।
अस्पतालले यस सेवाले बन्दीपुर अस्पतालसम्म नागरिकहरूको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ। आगामी कार्यक्रमअन्तर्गत यसै साताको मंगलबार साराङ्घाट र बुधबार धरमपानीस्थित स्वास्थ्य संस्थामा बन्दीपुर अस्पतालबाट चिकित्सकसहितको टोली स्वास्थ्य परीक्षणका लागि जाने र शुक्रबार धरमपानीबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क यातायात सेवा सञ्चालन गरिने जनाएको छ ।










