भानुजयन्तीका अवसरमा वक्तृत्वकला प्रतियोगिता

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार आयोजना गरेको प्रतियोगितामा भानु नगरपालिका-१३ स्थित जनसहयोगी माध्यमिक विद्यालयका रसिदा मियाँ प्रथम भएकी छन् ।

‘नेपाली साहित्यमा आदिकवि भानुभक्तको योगदान’ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा भानु-१० स्थित जनजागृती माविका आन्ना तामाङ द्वितीय, भानु-११ स्थित राष्ट्रिय माविकी स्मृति थापा तृतीय र भानु-९ स्थित कर्मदा माविकी सविना भट्टराइले सान्त्वना स्थान हाँसिल गरेकी छन् ।

विजयी विद्यार्थीलाई भानु जयन्तीको अवसरमा असार २९ गते आयोजना हुने कार्यक्रमका अवसरमा पुरस्कार वितरण गरिने शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।










