तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन
तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट रु.पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो ।
चालु आर्थिक वर्षको लागि रु.८० लाख विनियोजित भई टेन्डर गरिएकोमा रु.६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ । पम्प हाउस निर्माण पश्चात रिर्जभ ट्याडकीसम्म जिआई पाइप र विद्युत लाइन जडान गर्ने योजना रहेको पोल्याङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिनुभयो ।
सिसा खोला र बुल्दीखोलाको दोभानबाट करिब साढे दुई किलोमिटर लामो दूरीमा पर्ने निर्बु डाँडामा पानी लिफ्ट गरी दुई लाख लिटर क्षमताको रिर्जभ ट्याङकीमा सङ्कलन गरेर घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । स्थानीय बराह खोलाबाट विसं २०५७ मा ल्याएको पानीले १९ वटा धारा जडान गरी त्यसक्षेत्रमा पानी बितरण गर्दै आएपनि घरधुरी सङ्ख्या बढ्दै गएकोले पानीको समस्या हुन थालेको हो ।
विगतका वर्षदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीयबासीले पोल्याङ लिफ्ट खानेपानी योजनाको लागि बजेट निकासा भई काम शुरु गरेपछि खुशी हुन थालेको समितिका सचिव रमेश आचार्यले बताउनुभयो । आयोजनाको लागि स्थानीय उपभोक्ताले रु.चार लाख सङ्कलन गरी बैंकमा धरौटी राखेर निर्माण कार्य अघि बढाइएको अध्यक्ष नहर्कीले बताउनुुभयो ।
बोरिङ हाउस निर्माणको लागि स्थानीय गणेशराज अधिकारीले तीन आना जग्गा निःशुल्क रुपमा आयोजनालाई दिई मालपोत कार्यालयबाट रजिष्टेशन पास गरिदिएर सहयोग गर्नु भएको छ । यस आयोजनाबाट हाललाई ३५० घरमा धारा पु¥याउने र जनसङ्ख्या बढ्दो क्रममा रहेकोले भविष्यमा एक हजार घरधुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भईरहेको समितिका सचिव आचार्यले जानकारी दिनुभयो ।
बराहखोलाबाट ल्याई बितरण गरिएको पानीले आपूर्तिमा सहज नभएपछि स्थानीयबासीले खानेपानीको चर्को सामना गर्नुपरेको छ । योजनाको निर्माण कार्य शुरु हुन थालेसँगै अब भने त्यसक्षेत्रका बासिन्दाले खानेपानी राहतको महसुस गर्न पाउने विश्वास गरिएको छ ।










