वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

प्रकाश सिलवाल

कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो ।

वैकल्पिक सिकाइ प्रणालीमा ग्रामीण क्षेत्रमा अन्य माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएको विभिन्न अध्ययनले देखाएको छ । बिजुली, इन्टरनेट र टेलिभिजनजस्ता साधन नभएका स्थानमा सूचना र शिक्षाका रेडियो भरपर्दो साधन सावित भएको छ ।

हाल कक्षा ६ देखि १० सम्मका अनिवार्य र विभिन्न विषयमा श्रव्य पाठहरु तयार गरी प्रसारण गराइएको छ । केन्द्रले बनाएको स्वअध्ययन पुस्तकमा रेडियो सुनेर विद्यार्थीलाई गृहकार्य गराउन सकिने स्रोत सामग्री उपलब्ध छ । केन्द्रले विद्यार्थीलाई रेडियो कक्षामा टिकाइराख्न एउटा रेडियो कक्षालाई १५ मिनेटको हुने गरी नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको छ ।

गुड नेवर्सले सरकारसँगको समन्वयमा हुम्ला, मुगु, नुवाकोटलगायत १२ जिल्लामा कक्षा ८ का १८६ विद्यार्थीमा गरेको सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको पाइएको छ । सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी भएको पाइएको छ ।

कोभिड–१९ पछि नेपाल सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी सो वर्षको असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गरेको थियो ।

निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिनेछ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

सो केन्द्रलेले हाल रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ ९एको¥याव०, कान्तिपुर एफएमलगायतसँग सहकार्य गरी विद्यालय तहका अनिवार्य विषयलाई प्राथमिकता दिइ यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एको¥याबमा आवद्ध दुईसय एक रेडियोमार्फत् बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एको¥याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको पछिल्लो अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रसारण हुने समय उपयोगी लागेको देखिएको छ ।

केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयलाई बढी जोड दिइएका श्रव्य कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ विस्तार गरिने बताउनुभयो । उहाँले सानो खालको मोबाइलमा पनि रेडियो सुन्न सकिने भएकाले यो माध्यम वैकल्पिक स्थितिमा उचित भएको पाइएको जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धीबहादुर कार्कीले रेडियो कक्षा प्रभावकारी भएको स्रोताको प्रतिक्रिया पाइएको बताउनुभयो । ‘दूरशिक्षाअन्तर्गत प्रसारित शैक्षिक कार्यक्रम र रेडियो नेपालको प्रसारणको प्रभावकारिता’ विषयमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तहमा शोधपत्र बुझाएका निर्देशक कार्कीले विषयगत श्रव्य पाठको प्रसारणलाई निरन्तरता दिइने जनाउनुभयो ।

सन् २०१९ मा गरिएको सर्वेक्षणमा रेडियो नेपालको ८९ प्रतिशत नेपाली जनसङ्ख्यामा पहुँच रहेको देखाएको थियो । यो संस्थाका सातै प्रदेशमा २५ रिले स्टेशन र छ वटा प्रादेशिक प्रसारण छ ।

एको¥यावका महासचिव किशोरजङ्ग थापाले सामुदायिक रेडियोहरु स्रोताको रोजाइमा भएकाले यसमार्फत् शिक्षा्ण सिकाइ प्रभावकारी भएको बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका महासचिव गुणराज मोक्तानले रेडियोमार्फत्को सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावकको सक्रिय भूमिका र शिक्षकको सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा राष्ट्रिय प्रसारण रेडियो नेपालले प्रवेशिका उत्तीर्ण नभएमा शिक्षकका लागि विसं २०३७ देखि ‘रेडियो शिक्षक’ तालिम कार्यक्रम सञ्चालन, प्रवेशिका उत्तीर्ण भएका शिक्षकलाई घन्टे तालिम सञ्चालन र २०६२/०६३ मा अनिवार्य विषयका लागि एसएलसी सहयोग कार्यक्रम (दूर तथा खुला) सञ्चालन गरेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker