नेकपा एमाले तनहुँमा ११.६८ प्रतिशतले पार्टी सदस्यता बढ्यो

दमौली : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) तनहुँको सदस्यता संख्या ११.६८ प्रतिशतले वृद्धि भएको छ । एमाले तनहुँका अनुसार यस वर्ष ११.६८ प्रतिशतले पार्टीको संगठित सदस्य बढेको हो ।
‘जिल्लामा पार्टीको संगठितको संख्या पाँच हजार २६७ पुगेको छ’, तनहुँका सचिव प्रदीपराज अधिकारीले भने, ‘यस वर्ष ७०४ जनाले नयाँ सदस्यता लिएका छन् ।’
जिल्लाका दशवटै स्थानीय तहमा पार्टीप्रति आकर्षण बढेका कारण ७०४ जनालाई नयाँ सदस्यता वितरण गरिएको उनले बताए ।
सचिव अधिकारीका अनुसार भानुमा ११४, व्यासमा ६५, आँबुखेरेनीमा ५३, देवघाटमा १४, बन्दीपुरमा पाँच, शुक्लागण्डकीमा १९३, म्याग्देमा ३१, भिमादमा १७५, घिरिङमा १८ र ऋषिङमा ३६ नयाँ सदस्यता थपिएका छन् ।
वि.सं. २०८१ मा संगठित सदस्यको संख्या चार हजार ७१६ रहेकामा २०८२ मा चार हजार ५६३ जनाले नवीकरण गरेका छन् । नवीकरण गर्ने संख्या दुई प्रतिशत कम हुनुमा केही सदस्यले अन्यत्र जिल्लामा स्थानान्तरण गरेको, केहीको मृत्यु भएको र केही निस्कृय रहेको अधिकारीले बताए ।
अधिकारीका अनुसार भानुमा ६९५, व्यासमा ७०४, आँबुखैरेनीमा १५३, देवघाटमा १३३, बन्दीपुरमा २३३, शुक्लागण्डकीमा ८७४, म्याग्देमा २५७, भिमादमा ९९७, घिरिङमा ३७५ र ऋषिङमा १४२ जनाले पार्टी सदस्यता नवीकरण गरेका छन् ।










