आगामि आर्थिक वर्षको बजेट बनाउने तयारीमा व्यास नगरपालिका
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको व्यास नगरपालिकाले आगामि आर्थिक वर्ष २०८०/०८१ बजेट बनाउने तयारीमा जुटेको छ ।
नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम के कसरी अगाडि बढाउने र कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रमा आवद्ध नगरबासीहरुसंग छलफल सुरु गरेको छ । नीजि क्षेत्रका व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरुसंग शुक्रबार राय सुझाव संकलन कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले कर नबढाइ करको दायरा बढाउने योजना बनाएको बताए ।
व्यास नगरभित्र रहेका ढुंगाखानी, नीजि व्यवसायी, कृषि क्षेत्रका कृषक लगायतका सरोकारवाला निकायसंग छलफल गरी कसरी अगाडि बढ्न सकिन्छ भनेर साझा सबालका बिषयमा छलफल गर्न थालिएको प्रमुख न्यौपानेले बताए । नगरको बजार क्षेत्रका व्यापारिक सटर खाली भएको, व्यवसायी कस्तो स्थितिमा छन, कुन कुन व्यवसाय धराशासी भएका छन्, बजार भाउ हरेक हप्ता बढ्ने र घट्ने जुन क्रम चलिरहेको छ अन्य जिल्लाको बजार भाउ र यहाँको बजार भाउको बिषयमा सुक्ष्म अध्ययन गरिरहेका उनले बताए ।
व्यासका सबै नगरबासी मिलेर सहज ढंगबाट व्यासको आन्तरिक आय वृद्धि गराउने र व्यवसायीलाई पनि मर्का नपर्ने गरी प्राप्त आयबाट अधिकतम सदुपयोग गर्ने बिषयमा नगरपालिका गम्भीर भएर लागेको उनले बताए ।
नगरको वडा नं. १, २, ३, ४, ५, १० र ११ बाट आन्तरिक आय बढि हुने नगरपालिकाले जनाएको छ । व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर लगायतकालाई हेरफेर गर्न अन्तरक्रियात्मक कार्यक्रमबाट प्रस्ताव गरेपछि नगरसभाले पास गर्न सकिने हुँदा कार्यक्रमको आयोजना गरिएको र उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरिएको छ ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले करको दायरालाई बढाउन स्थानीय तहले नीजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको सुझाए । संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायीले व्यवसाय गर्ने स्थिति नभएको, परिवार पाल्न र घरभाडा समेत तिर्न कठिनाई भएकोले करमा फेरबदल गर्न सके प्रभावकारी हुने बताए ।
संघका प्रतिनिधी एवं व्यवसायी इश्वर बिष्टले करको प्रतिशत भन्दा करको दायरा बढाउने कार्य प्रभावकारी हुने सुझाए । व्यास नगरपालिका मातहत संचालित सटरको भाडा घटाएर अन्य व्यक्ति बिशेषका घरमा लगाइएका भाडादर घटाउने उदाहरण कार्य व्यासबाट थाल्नुपर्ने बताए । व्यवसायी बैकुण्ठ मिश्रले व्यास र नीजि क्षेत्र एक आपसमा हातेमालो गर्दै अघि बढ्न जरुरी रहेको बताए । व्यवसायीहरुले राज्यले सटर बनाएर व्यपार गर्दै जाने हो भने व्यक्तिले कसरी व्यवसाय गर्ने र भाडा तिर्न सक्छन् ? प्रश्न गरेका थिए ।
दमौली बजारका पूर्व सभापति बुद्धिमान श्रेष्ठले दमौली बजार इकाईले दमौली बजार क्षेत्रमा कार्यालय समयमा मालबाहक सवारीसाधानलाई प्रवेशमा निषेध गरेर व्यवस्थित गरेपनि पुनः अव्यवस्थित बन्दै गएको तर्फ ध्यानाकर्षण गराएका थिए ।
दमौली बजार इकाईका सभापति भूपाल आलेले नगरपालिकाबाट बजार इकाईले पाउने गरेको सिमित प्रतिशत नपाएको र पाएपनि विभिन्न शीर्षकमा काटेर दिने गरिएको गुनासो गरे । बजार क्षेत्रमा सिसि क्यामेरा मर्मत र जडानको लागि वडाबाट १५ लाख रुपैयाँ छुट्टाइएपनि निकासा हुन नसकेको बताए ।










