विद्यालयको छानो हावाहुरीले उडाएपछि शिक्षिकाहरुनै खट्टएि छाउन
छानो छाउनका लागि पालिकाबाट ६५ हजार निकासा, जस्तापाता खरिद गरी छाउने तयारी

तनहुँको बन्दीपुर गाउँपालिका-३ स्थित सरस्वती आधारभूत विद्यालयको छानो हावाहुरीले उडाएपछि शिक्षिकहरुनै खट्टएिर छाएका छन् । गत जेठ १७ गते आएको हावाहुरीले विद्यालयको टिनको छानो उडाएपछि पठनपाठनमा समेत समस्या हुँदै आएको थियो ।
हावाहुरीले स्कुलको छानो उडाएपछि प्रधानाध्यापक सरस्वती भट्टराइले पालिकामा खबर गरेकी थिइन् । पालिकाले अर्को दिन त्रिपाल पठायो तर, त्यो त्रिपाललाई पनि १८ गतेको हावाहुरीले च्यातचुतमात्रै पारेन, उडाएरै लग्यो । त्यसको केही दिनपछि पानी पर्न थाल्यो, कक्षा कोठामा विद्यार्थी राखेर पढाउन सक्ने स्थिति नै नबनेपछि शिक्षिकहरु नै छानो छाउन खट्टएिका थिए ।
‘पानी परेको पर्यै गरेर विद्यार्थीको त बिजोग भयो । कक्षामा पानी चुहिएर पढाउनै नसक्ने स्थिति आयो’, प्रधानाध्यापक भट्टराइले भनिन्, ‘छेउको अर्को भवनको चाहिँ हावाले छानो उडाएन। त्यही भवनमा अफिस र विद्यार्थी एकै ठाउँ राखेर पढाइराखेका छौं । त्यो भवन पनि जीर्ण छ ।’
पालिकाले छानो छाउन केही समय लाग्ने जवाफ पठाएको भट्टराइ सुनाउँछिन् । ५ सम्म पढाइ हुने उक्त स्कुलमा ३१ जना विद्यार्थी पढ्छन् । पालिकाले पनि छानो छाउन केही समय लाग्ने जवाफ पठायो ।
सबै कक्षाका विद्यार्थी र कार्यालय एकै ठाउँमा राखेर पढाउन सकस भएपछि सोमबार ३ जना शिक्षिका आफैं धुरी चढेर हावाले उडाएको टिन ठाकठुक पारेर छाएका छन् । धुरीमा त्यही स्कुलमा कार्यरत वन्दना भट्टराइ, शुभकामना कुँवर र निर्मला राना चढेर मर्मत गरेका छन् ।
सरस्वती आधारभूत विद्यालयमा ७ जना शिक्षक छन् । विद्यालयका २ वटा भवन छन् तर, दुवै जीर्ण भइसकेका छन् । हावाहुरी र वर्षातको समयमा छना चुहिँदा पढाउन निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको भट्टराइले गुनासो पोखिन् ।
यस्तै, वडा अध्यक्ष परमेश्वर भट्टराइले छाउन छाउनका लागि बुधबार गाउँपालिकबाट ६५ हजार निकासा भएको बताएका छन् । ‘हावाहुरीले विद्यालयको छानो उडाएको र मर्मत सम्भारमा केही ढिलो भएको छ’, उनले भने, ‘प्राविधिकहरुले विद्यालयको छानो छाउनका लागि ९७ हजार रुपैयाँ बराबरको लागत स्टमेट निकालेका छन् । पालिकाबाट ६५ हजार निकासा भएको हुँदा भोली विहीबार जस्तापाता खरिद गरी स्थानीयको सक्रियतामा विद्यालयको छानो छाउने तयारी भएको छ ।’
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले १७ गतेको हावाहुरीले पालिकाका एक सयभन्दा बढी घरको छाना उडाएको जानकारी दिए । हावाहुरीले क्षति पुर्याएका घरपरिवारलाई राहत बाँड्ने काम भइरहेको र पहिलो प्राथमिकता नै स्कुललाई दिइएको उनले बताए ।
‘हावाहुरीले छानो उडाएको भोलिपल्टै पालिकाबाट त्यहाँ त्रिपाल पठाएको हो । त्यसको छानो छाउनका लागि प्राविधिकको टोली पठाएर स्टिमेट ल्याउन भनिएको छ’, गाउँपालिका अध्यक्ष थापाले भने, ‘स्टिमेट आएपछि के गर्ने तय हुन्छ । पालिकाभरि धेरैको घरमा क्षति पुगेकाले अहिले राहत वितरणमै समय दिइरहेका छौं ।’









