निर्वाचनलक्षित गतिविधि बढाउँदै नेकपा, तनहुँका १० पालिकामा अभियान टोलीले संगठन विस्तार गर्दै

दमौली : तनहुँमा नेपाली कम्युनिष्ट पार्टीले संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई एकसाथ अघि बढाउने गरी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका सबै १० स्थानीय तहमा नेताहरूलाई जिम्मेवारी तोकेर पार्टीले संगठनात्मक गतिविधिलाई गाउँ तथा वडास्तरसम्म पुर्याउने रणनीति बनाएको छ ।
अभियानअन्तर्गत पार्टीले स्थानीय तहस्तरीय टोली गठन गरी केन्द्रीय सदस्यसहितका नेताहरूलाई परिचालन गर्ने भएको छ। सम्बन्धित पालिकामा मतदाता रहेका सबै तहका पार्टी सदस्यलाई अभियानमा सहभागी गराइने पार्टीले जनाएको छ ।
पार्टी जिल्ला कार्यालय तनहुँले आइतबार पत्रकार सम्मेलन गरी अभियानको कार्ययोजना र जिम्मेवारी बाँडफाँट सार्वजनिक गरेको हो। अभियानमार्फत पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टीका विभिन्न तहका समिति र जनवर्गीय संगठनको समायोजन तथा वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनको तयारी गरिनेछ ।
त्यसैगरी केन्द्रीय महाधिवेशनका लागि सुझाव संकलन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको राजनीतिक कार्ययोजनाबारे जनतालाई जानकारी गराउने कार्यक्रम तय गरिएको छ । यसले पार्टीको संगठनात्मक संरचना व्यवस्थित गर्नुका साथै निर्वाचनका लागि आधार तयार गर्ने लक्ष्य राखेको देखिन्छ ।
अभियानलाई संगठन विस्तारमा मात्र सीमित नराखी समसामयिक राजनीतिक तथा जनजीविकाका सवालसँग जोड्ने पार्टीको योजना छ। राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानको संरक्षण, सुशासन र सामाजिक न्यायका पक्षमा जनसहभागिता बढाउने उद्देश्य राखिएको छ ।
महँगी, बेरोजगारी, कालोबजारी, असुरक्षा र जनविरोधी गतिविधिविरुद्ध जनमत निर्माण गर्ने तथा प्राकृतिक विपद्मा परेका नागरिकलाई सहयोग पु¥याउने कार्यक्रम पनि अभियानमा समेटिएको छ । पालिकागत जिम्मेवारीअनुसार देवघाटमा हरिबहादुर चुमान, आँबुखैरेनीमा सूर्यबहादुर गौली र शुक्र चुमान तथा बन्दीपुरमा गीता शाही, हेमराज लामिछाने, जुमबहादुर गुरुङ र मीना गौतमलाई खटाइएको छ ।
भानुमा विद्या ढकाल र ओमकुमारी पौडेल, व्यासमा कलिला खान, शिवशंकर पौडेल र मंगलप्रसाद श्रेष्ठ, म्याग्देमा सोमबहादुर थापा तथा शुक्लागण्डकीमा आशा कोइरालालाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी भिमादमा काजीमान श्रेष्ठ र रमेश सिग्देल, घिरिङमा शंकर पोखरेल र दुर्गा नेपाली तथा ऋषिङमा ओमराज आलेलाई अभियानको जिम्मेवारी तोकिएको छ। जिल्ला कार्यालयको जिम्मेवारी अतीन्द्र केशरी न्यौपानेलाई दिइएको पार्टीले जनाएको छ ।
पार्टीकी जिल्ला इन्चार्ज आशा कोइरालाले अभियानलाई प्रभावकारी बनाउन नेता तथा कार्यकर्तालाई परिचालन गरिने बताइन् । संगठनात्मक पुनर्संरचना, राजनीतिक मुद्दामा जनमत निर्माण र निर्वाचनको तयारीलाई एउटै अभियानमा समेटेको पार्टीले अब स्थानीय तहमा कस्तो प्रभाव पार्छ भन्ने कुरा अभियानको कार्यान्वयन र जनतासँगको अन्तरक्रियामा निर्भर रहनेछ ।










