तनहुँ हाइड्रोपावर : तल्लो सेती जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाको अडिट सुरुङ निर्माण प्रक्रिया सुरू भएको छ । यसका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएका छन् । लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाका लागि अडिट सुरुङ निर्माणका लागि भएको सम्झौतानुसारको काम अगाडि बढाउने प्रक्रिया सुरू भएको जानकारी दिए ।
तल्लो सेती जलविद्युत् आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग सम्झौता भएको थियो । सोबमोजिम निर्माण व्यवसायीले अहिले पहुँचमार्ग, अडिट सुरुङ लगायतका इञ्जिनियरिङ सर्भे जारी राखेको लिमिटेडका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए ।
आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको जानकारी दिदै उनले भने, “आयोजना सुरू गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमदव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । त्यसपछि डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने गरी काम हुन्छ ।”
तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिका गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ ।
करिब रु २५ अर्ब लागत अनुमन गरिएको आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।
यहाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएका छन् । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि बाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।
आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दहमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।
आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् ।
देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माणगरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।
अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker