दमौलीको आदिकवि भानुभक्त क्याम्पसले डिजिटल मार्केटिङ बुट क्याम्प गर्दै

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि पाँच दिने डिजिटल मार्केटिङ बुट क्याम्प आयोजना हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको यो तालिममा बिआइसिटिइको नियमित पाठ्यक्रममा नसमेटिएका महत्वपूर्ण आइटी विषय समावेश हुनेछन् । क्याम्पसले वर्षमा तीनवटा पूरक पाठ्यक्रम यस किसिमको बुट क्याम्पमार्फत सञ्चालन गर्दै आएको छ ।
यो पटकको कार्यक्रममा सहभागी हुन ८० जनाले आवेदन दिएका छन् । आगामी साउन २९ गतेदेखि बिहान र साँझको सत्रमा गरी दैनिक ६ घण्टा तालिम प्रदान गरिनेछ । प्रशिक्षणका लागि क्याम्पस बाहिरका डिजिटल मार्केटिङ विज्ञहरू आमन्त्रित गरिनेछन् ।
कार्यक्रमको आयोजना बिआइसिटिइ विभाग र विद्यार्थीहरूको संस्था एबिआइटी क्लबले संयुक्त रूपमा गर्ने भएको छ । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा मंगलबार आयोजित तयारी बैठकमा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले सहजिकरण गरेका थिए। बैठकमा विभागीय प्रमुख इन्जिनियर घनबहादुर थापा र क्लब अध्यक्ष दिवस रानाभाटले तयारीको विवरण प्रस्तुत गरेका थिए ।
यस्तै, बैठकमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता थियो, जहाँ अघिल्ला बुट क्याम्पका अनुभवहरू पनि साझा गरिएका थिए ।










