आदिकवि भानुभक्त क्याम्पसमा उद्यमशीलता सम्मेलन, रोजगारीमुखी शिक्षामा जोड, २ करोड १३ लाखको प्रशासनिक भवन

दमौली : उच्च शिक्षालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले ‘उद्यमशीलता सम्मेलन–२०२६’ तथा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेको छ । क्याम्पसमा शनिबार आयोजित कार्यक्रमको विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. देवराज अधिकारीले उद्घाटन गरेका थिए ।
प्रा.डा. अधिकारीले नेपालमै पहिलोपटक उद्यमशीलताका विज्ञ, उद्योग–व्यवसायसँग आबद्ध उद्यमी, क्याम्पसका पूर्वविद्यार्थी उद्यमी, पाँच सामुदायिक क्याम्पसका प्राध्यापक तथा विद्यार्थी र उद्यम गर्न इच्छुक ८८ जना विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्ने प्रयास अत्यन्त प्रशंसनीय रहेको चर्चा गरे ।
शिक्षालाई रोजगारीसँग जोड्ने क्याम्पसको अभियान समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले यस्तो अभ्यासले नेपाली उच्च शिक्षामा नयाँ बहसको सुरुआत गर्ने विश्वास व्यक्त गरे ।
प्रा. डा. अधिकारीले आदिकवि भानुभक्त क्याम्पसले नेपालमै पहिलोपटक ‘भिजिटिङ प्रोफेसर’ पदका लागि विज्ञापन गरी अनुसन्धान तथा शैक्षिक उत्कृष्टता हासिल गरेका विशिष्ट प्राध्यापकलाई क्याम्पससँग आबद्ध गराउने योजना अघि बढाएको उल्लेख गरे । यसले क्याम्पसलाई नमुना शैक्षिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको संयुक्त लगानीमा अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न हुनु क्याम्पसका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले भने, ‘अब लेखा, प्रशासन र परीक्षा सम्बन्धी सम्पूर्ण सेवा एउटै भवनबाट प्रवाह हुने भएकाले विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई सहज सेवा उपलब्ध हुने विश्वास बढेको छ ।’
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आदिकवि भानुभक्त क्याम्पसले उच्चस्तरीय भौतिक पूर्वाधार निर्माणसँगै सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थासँग सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे । आगामी दिनमा अनुसन्धानमा आधारित तथा रोजगारमुखी शिक्षालाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता उनले औल्याए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन प्रा. डा. डिल्लीराज शर्माले बदलिँदो समयले व्यावहारिक तथा रोजगारमुखी शिक्षाको माग गरिरहेको उल्लेख गर्दै क्याम्पसले युवामा रहेको सिर्जनशील सोचलाई व्यावसायिक योजनामा रूपान्तरण गर्ने लक्ष्यसहित आयोजना गरेको उद्यमशीलता सम्मेलन भविष्यमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
क्याम्पस सञ्चालक समिति का अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष रामचन्द्र पोखरेल, सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बराल, सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की, व्यास नगरपालिका–१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खले, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आले लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त अवसरमा भवन निर्माण समितिका पूर्वसंयोजक सहवीर उचाइ ठकुरी, वर्तमान संयोजक क्या. सोमबहादुर थापा, निर्माण कम्पनी मातृभूमि डेभलपर्स प्रणाली र पञ्चशील जेभी प्रालि, परामर्शदाता इलेभेन इन्जिनियरिङ कम्पनी तथा भवन शिलान्यासमा संलग्न पण्डित दुर्गाभक्त अधिकारीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी क्याम्पसका पूर्वविद्यार्थी उद्यमीहरूलाई पनि उद्यमशीलता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेका अनुसार नवनिर्मित प्रशासनिक भवन विश्वविद्यालय अनुदान आयोगको १ करोड ८९ लाख रुपैयाँ अनुदान तथा क्याम्पसको आन्तरिक स्रोतबाट २६ लाख रुपैयाँ गरी कुल २ करोड १३ लाख ७४ हजार ९३७ रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो । भुइँतलासहित छ कोठा रहेको उक्त भवनबाट प्रशासन, लेखा र परीक्षा शाखाका सेवा एकीकृत रूपमा सञ्चालन गरिने उनले बताए ।
सहायक क्याम्पस प्रमुख प्रा. डा. रामकुमार अधिकारीले सहजिकरण गरेका कार्यक्रममा उद्यमशीलता सम्मेलन र नयाँ प्रशासनिक भवन सञ्चालनसँगै आदिकवि भानुभक्त क्याम्पसले परम्परागत शिक्षालाई व्यावसायिक सीप, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलतासँग जोड्ने नयाँ अभियानको औपचारिक सुरुआत गरेको विश्वास सहभागीहरूले व्यक्त गरेका थिए ।









