शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माण गर्ने सहमति

शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको शिखरकटेरीमा भानुगृह निर्माण सुरु गर्ने सहमति जुटेको हो ।
भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर शिलान्यास भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पश्चिमाञ्चल विकास मञ्चको लगानीमा भानुगृह निर्माणको तयारी थालिएको हो ।
मञ्चका पदाधिकारी तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पदाधिकारीबीच बुधबार सम्पन्न संयुक्त बैठकले फागुनदेखि निर्माण कार्य अगाडि बढाउने सहमति गरेको छ । त्यसका लागि माघ महिनाभित्रै बोलपत्र आह्वान गरिने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सात वर्ष पहिला शिलान्यास भएर काम अघि बढ्न सकेको थिएन । अब भानुगृह निर्माण गर्नेमा सहमति जुटेको छ ।” भानुगृहको अनुमानित लागत रु एक करोड १० लाख रहेको छ । घरको डिजाइन थोरै परिवर्तन गर्न लागिएकाले बजेट तलमाथि हुनसक्ने आँकलन गरिएको उहाँको भनाइ छ ।
विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्ने अध्यक्ष मदनकुमार महतले जानकारी दिनुभयो । मञ्चले भानुगृह निर्माणका लागि रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ ।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिकोतर्फबाट आवश्यक सहयोग रहने रानाभाटले बताउनुभयो ।
विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । रानाभाटले भन्नुभयो, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”
यस अगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायत कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ ।
मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker