घिरिङ गाउँपालिकाद्वारा लसुन प्याजको खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण
भञ्ज्याङ समाचारदाता/घिरिङ
कृषकलाई व्यवसायिक तर्फ उन्मुख गराउन तनहुँको घिरिङ गाउँपालिकाले प्रोत्सान रकम उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई निर्वाहमुखी नभई व्यवसायिक रुपमा उत्पादन गर्न प्रेरित गर्ने उद्देश्यका साथ प्रोत्साहन रकम वितरण गरेको छ ।
चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित सञ्चालित कार्यक्रममा सहभागि कृषकलाई उनिहरुले गरेको उत्पादनका आधारमा प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
‘कृषक नगदेबालीतर्फ आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको हो’, अध्यक्ष रानाले भने, ‘नगदेबालीतर्फ आकर्षण बढाउन चालु आर्थिक वर्षबाट यो कार्यक्रम ल्याएको र आगामि वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौं ।’
गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यवसायिक रुपमा उत्पादन गर्ने कृषक कम भएकाले यो खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाइ आर्थिक उपार्जनको पाटो बलियो बनाउने उद्देश्यले प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याइएको उपाध्यक्ष सरस्वती सिग्देलले बताइन् ।
गाउँपालिकाले सञ्चालन गरेको प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनी क्षेत्रफलमा खेती गरी उत्पादन गर्नुपर्ने मापदण्ड बनाइएको छ । प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरिएको र कार्यक्रममा सहभागिताका लागि कृषकले दिएको निवदेनका आधारमा फिल्डमै गएर मूल्याङ्कन गरी रकम प्रदान गर्ने मापदण्ड बनाइएको गाउँपालिकाका सल्लाहकार सुमन कुमार श्रेष्ठले बताए । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कृषकलाई प्रति रोपनी पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको छ । गाउँपालिकाले यस वर्ष१८ जना कृषकलाई ९० हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको सल्लाहकार श्रेष्ठले जानकारी गराए ।
यस कार्यक्रममा सहभागि घिरिङ-१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज खेती गरेबापत ४० हजार रुपैयाँ प्रोत्साहन रकम प्रप्त गर्न सफल भएका छन् । गाउँपालिकाको वडा नं. १, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । जस अन्तरगत तीन जना कृषकले दुइ रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकले एक रोपनी क्षेत्रफलमा लसुन प्याज खेती गरी प्रोत्साहन रकम बुझेका छन् ।










