पार्टी पुनर्गठनका लागि कांग्रेस महामन्त्रीद्वयले सारे दुई विकल्प

काठमाडौँ : कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी पुनर्गठनका लागि तत्काल गर्नुपर्ने भन्दै दुई विकल्प अघि सारेका छन् । कांग्रेस कार्य सम्पादन समितिको आजको बैठकमा उनीहरुले विकल्पबारे आफ्ना धारणा राखेका हुन् ।

आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्नेमा उनीहरुको जोड छ ।

भदौ २३ र २४ गते युवा पुस्ताको आन्दोलनबाट व्यक्त भावना, खासगरी सुशासन र भ्रष्टाचारमुक्त देश र समाज निर्माण गर्ने दायित्व पार्टीमा आएको उनीहरुले उल्लेख गरेका छन् ।

आन्दोलनका क्रममा भएका घुसपैठ र अवाञ्छित क्रियाकलापबाट भएको धनजनको क्षतिको छानबिन गरी दोषीलाई दण्डित गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्नेमा उनीहरुको जोड छ ।

‘लामो संघर्षपछि नेपाली जनताले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाटै समुन्नतिको यात्रामा डोर्‍याउने दायित्व छ,’ महामन्त्रीले भनेका छन्, ‘कांग्रेसले स्थापनाकालदेखि आजसम्म जुनसुकै कठिन अवस्थामा पनि सम्झौता नगरेका राजनीतिक मूल्य–मान्यता — अहिंसा, नागरिक स्वतन्त्रता, विधिको शासन लगायतका मूल्यलाई जोगाउने दायित्व छ ।’

पार्टीको यो दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले नियमित महाधिवेशन र विशेष महाधिवेशनको बहस उठाएका छन् । ‘पार्टीको विधान अनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ । अब म्याद नथपौं, यो परिस्थितिमा थप्न मिल्दैन। नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौं । हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौं र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौं,’ उनीहरुले उल्लेख गरेका छन् ।

यस्तै, अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गर्न र नयाँ नेतृत्व चयन गर्न पनि उनीहरुले प्रस्ताव गरेका छन् । यस सन्दर्भमा उनीहरुले विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था पनि सम्झाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker