तनहुँ–२ का उम्मेदवार सिग्देलको प्रतिबद्धता : “सुखी नेपाली, समृद्ध नेपाल” र सामाजिक न्याय प्राथमिकतामा

तनहुँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा पूरा गर्दै सामाजिक न्याय र समानतामूलक समाज निर्माण आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको चुनावी घोषणापत्रमार्फत सिग्देलले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा नागरिकको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
घोषणापत्र सार्वजनिक गर्दै उनले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न राज्यका स्रोत–साधनको उचित व्यवस्थापन र दिगो विकासका कार्यक्रम सञ्चालन गरिने बताएका छन् । उनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक स्रोतहरूको समुचित उपयोगमार्फत क्षेत्रीय सन्तुलित विकास सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन् ।
सिग्देलले आफ्नो घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई साझा राष्ट्रिय एजेण्डाका रूपमा अघि सारेका छन्। युवापुस्तासहित आम नागरिकको आकांक्षा पूरा गर्न पारदर्शी शासन प्रणाली र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले जनप्रतिनिधिको रूपमा त्यसका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विधायिकी भूमिकामा सक्रियता

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि सांसदका रूपमा संविधान कार्यान्वयन, संघीयताको संस्थागत विकास र सुशासन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको सिग्देलको दाबी छ। सांसदका रूपमा आफ्नो अधिकार क्षेत्रभित्र रहेर विकास योजना छनोट, बजेट विनियोजन तथा कार्यक्रम कार्यान्वयनमा योगदान दिएको उनले उल्लेख गरेका छन्।
विधायिकी भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण तथा विद्यमान कानुनमा समयानुकूल संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विभेदकारी र असान्दर्भिक प्रावधान हटाउने तथा समाजमा विद्यमान अन्धविश्वास र कुसंस्कार हटाउन विशेष अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्।
उनले लोकतन्त्रका मूल्यमान्यताको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन प्रवद्र्धनका लागि आवश्यक नीतिगत सुधारमा योगदान गर्ने पनि बताएका छन्। संविधान संशोधन आवश्यक भएको अवस्थामा अध्ययन र विश्लेषणका आधारमा विवेकपूर्ण निर्णय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

पूर्वाधार विकासमा जोड

सिग्देलले पूर्वाधार विकासलाई क्षेत्रीय समृद्धिको आधार मान्दै सडक, पुल, खानेपानी तथा विद्युत् विस्तारका योजनालाई प्राथमिकतामा राख्ने बताएका छन्। तीनै तहका सरकारबीच समन्वय गरी निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न गर्ने र नयाँ योजनाहरू प्राथमिकताका आधारमा अघि बढाउने योजना उनले सार्वजनिक गरेका छन् ।
यसअघि सांसद रहँदा जिल्लाका प्रमुख सडक आयोजनाहरूको स्तरोन्नतिमा पहल गरेको उल्लेख गर्दै उनले भिमकाली सडकलाई राष्ट्रिय राजमार्गस्तरमा विकास गर्न पहल गरिएको बताएका छन्। कृष्णमार्ग, श्रृङ्गपथ र सृजनामार्गलाई समेट्दै गाईघाट–गल्याङ वैकल्पिक राजमार्गको अवधारणा अघि बढाइएको पनि उनले बताएका छन्।
त्यसैगरी ढोरवाराही मार्ग र झापुटार–चालिसे सडकलाई रणनीतिक सडकका रूपमा स्तरोन्नति गरिएको तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड चार लेनमा विस्तारका लागि पहल गरिएको उनले उल्लेख गरेका छन्।
खैरेनीटार–भिमाद–कावासोती सडकअन्तर्गत खैरेनी–भिमाद सडकखण्ड विस्तार तथा कालोपत्रेका लागि बजेट विनियोजन गराएर निर्माण सम्पन्न गरिएको पनि उनले बताएका छन्। निर्वाचन क्षेत्रभित्रका पालिकाबाट वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा यातायात सुविधा दिगो र गुणस्तरीय बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक विकास

शिक्षा क्षेत्रको सुधारलाई विशेष प्राथमिकतामा राख्दै सिग्देलले क्याम्पसहरूको भौतिक संरचना तथा जनशक्ति व्यवस्थापन गरी स्नातकोत्तर तह सञ्चालन गर्ने पहल गरिने बताएका छन्। प्रत्येक पालिकामा एक आदर्श विद्यालय स्थापना गर्ने तथा प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकता दिने योजना घोषणापत्रमा उल्लेख गरिएको छ ।
शिक्षालाई रोजगारीसँग जोड्दै उत्पादनमूलक प्रणाली विकास गर्ने लक्ष्य पनि उनले प्रस्तुत गरेका छन्। स्वास्थ्य क्षेत्रअन्तर्गत आधारभूत अस्पतालहरूको संरचना निर्माणलाई तीव्रता दिने, एम्बुलेन्स सेवाको पहुँच विस्तार गर्ने तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको उनले बताएका छन्। जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र को भौतिक संरचना र सेवा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

कृषि, आवास र वातावरण

कृषियोग्य जमिन संरक्षणलाई प्राथमिकतामा राख्दै भू–उपयोग नीति कार्यान्वयनमार्फत कृषि क्षेत्रको विकास गरिने सिग्देलले बताएका छन् । एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरी प्राकृतिक विपद्को जोखिम कम गर्ने तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने योजना घोषणापत्रमा समेटिएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खर वा स्याउलाका छाना विस्थापित गरी जस्तापाताको छाना उपलब्ध गराउने योजना पनि उनले सार्वजनिक गरेका छन्। विद्युतीकरण नभएका क्षेत्रमा विद्युत् विस्तार तथा केबुल तार र स्टिल पोलमार्फत गुणस्तरीय सेवा सुनिश्चित गरिने प्रतिबद्धता जनाइएको छ ।

पर्यटन र सम्पदा संरक्षण

निर्वाचन क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ । सम्पदास्थलहरूको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिने तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सिग्देलले राखेका छन् ।

सुरक्षा र सुशासन

सामाजिक अपराध नियन्त्रण र शान्ति सुरक्षाको अवस्था सुदृढ गर्न आवश्यक स्थानमा प्रहरी चौकी स्थापना गर्ने तथा विद्यमान चौकीहरूको स्तरवृद्धि गर्ने योजना उनले प्रस्तुत गरेका छन् । भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न कडाइका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासनलाई आफ्नो कार्यकालको मुख्य आधार बनाउने बताएका छन्। हालैका राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै उनले हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

राजनीतिक यात्रा र अनुभव

वि.सं. २०२० साल असोज ५ गते साविक किहुँ गाविसमा जन्मिएका सिग्देलले स्नातकोत्तर तथा कानून अध्ययन पूरा गरेका छन्। विद्यार्थी राजनीतिबाट सक्रिय भएका उनले विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय बाट उच्च शिक्षा हासिल गरेका सिग्देल लामो समयदेखि पार्टी संगठन र जनआन्दोलनमा सक्रिय रहँदै आएका छन्। दुई कार्यकाल जिल्ला अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका उनी लामो राजनीतिक अनुभव भएका नेताका रूपमा चिनिन्छन् ।

जनप्रतिनिधिको प्रतिबद्धता

झण्डै पाँच दशक लामो राजनीतिक जीवनका अनुभवका आधारमा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिग्देलले आफू सार्वजनिक अभिव्यक्तिप्रति नैतिक रूपमा जवाफदेही रहने बताएका छन् ।
पार्टी कार्यकर्ताहरूले उनलाई सादा जीवनशैली, इमानदार छवि र निःस्वार्थ सेवाभाव भएका नेताका रूपमा प्रस्तुत गरेका छन्। घोषणापत्रमार्फत सिग्देलले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै तनहुँ क्षेत्र नम्बर २ को विकासलाई नयाँ चरणमा पु¥याउने लक्ष्य लिएको बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker