लमजुङका घरवासमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै

जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका संक्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएको बताउनुभयो ।

उहाँका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकहरुको भनाई छ ।

केही घरवास सञ्चालकहरुले घरवासमा बस्न दिने कुरा गरेपनि अधिकाशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुँने बताएका छन् । पर्यटक सोनिका श्रेष्ठले भन्नुभयो, “हामी १३ जना साथीहरु मिलेर यहाँ आयौँ घुम्न पायौँ तर बस्न पाएनौ ।” घुम्न खुल्ला गरेपनि बस्न पनि खुल्ला गरेमा पर्यटकहरुलाई सुविधा हुने उहाँको भनाई छ । तत्काल घरवास सञ्चालनमा नआउने उक्त समितिले जनाएको छ ।

घरवासमा बस्न नदिएपनि राइनासकोट चौरमा भने आफैले त्रिपाल टाँगेर भने बस्न पाइने सो समितिका अध्यक्ष गुरुङले भन्नुभयो। विसं. २०७५ फागुन महिनाबाट ११ घरबाट शुरुआत भएपनि यतिबेला सिंगो गाउँ अर्थात् १७ वटा घर रहेको यहाँ सबै घरमा घरवास रहेका छन् । गाउँमा सञ्चालिन सबै घरवास गरेर वाषिर्क करीब ५ करोड भन्दा बढी आम्दानी हुँदै आएपनि यस वर्षकोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानी समेत नहुँने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो ।

राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायतको १८ वटा हिमालहरु देख्न सकिन्छ। नेपालको एकीकरणको शुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय कृष्णराज ओलियाले बताउनुभयो । विश्वकै पहिलो योग स्तम्ब पनि राइनासकोटमा रहेको पनि उहाँको भनाई छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेको छ। पर्यटकीय राइनासकोट प्राकृतिक र साँस्कृतिकले भरिपूर्ण रहेको छ ।

बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबहृमा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ। राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गत वर्षगण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्न पर्ने ११० उत्कृष्ट गन्तव्य मध्य राइनासकोट परेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker