कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थाल्यो

कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिनुभयो । “कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो, परिस्थिति सहज हुँदै जान थालेपछि बन्दीपुरमा आन्तरिक पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो ।

चिसो मौसम बन्दीपुरमा पर्यटकको भीड हुने समय हो । कोभिडका कारण विगत वर्षजस्तो चहलपहल भने बन्दीपुरमा छैन । “अहिलेको बेला भनेको बन्दीपुरमा अत्यधिक विदेशी तथा स्वदेशी पर्यटकको भीड हुने समय हो, विगतका वर्षमा यतिबेला बन्दीपुरमा थामिनसक्नु भीड हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले कोभिडले परिस्थिति बदलिएको छ ।”

पछिल्लो समय निकै चर्चामा रहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण पनि बन्दीपुरमा पर्यटक बढेका छन् । बन्दीपुर आउने अधिकांश पर्यटक मानहुँकोट जाने र मानहुँकोट आएका पर्यटक बन्दीपुर आउने गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छुट प्याकेजसमेत सार्वजनिक गरेका छन् । चाडपर्वलाई लक्षित गरी सबै होटेल तथा रेष्टुरेन्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटेल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटेलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित व्यवसायी पर्यटक स्वागतमा जुटेको जानकारी दिनुभयो । राति बास बस्ने पर्यटकको सङ्ख्या कम रहे पनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रहेको छ। उहाँका अनुसार हाल दैनिक एक हजार पर्यटक बन्दीपुर भित्रिएका छन् । “शुक्रबार र शनिबार त्यो सङ्ख्या चार–पाँच हजारसम्म पुग्छन्”, उहाँले भन्नुभयो ।

बन्दीपुरमा होटेल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटेल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker