सञ्चालनमा आएन आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन

राजकुमार आले/दुलेगौंडा

तनहुँको शुक्लागण्डकीमा भवन बनेको चार महिनासम्म पनि स्वास्थ्य सेवा केन्द्रको भवन सञ्चालनमा आएको छैन । शुक्लागण्डकी-७ ले कुम्लेखोलास्थित जन्जिरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेको चार महिना बितेपनि सञ्चालनमा आउन सकेको छैन ।

केन्द्रको भवन निर्माण गर्न २०७६ मंसिर २८ गते शिलन्यास गरिएको भएपनि निकै ढिला गरी भवनको निर्माणकार्य सम्पन्न गरिएको थियो । निर्माण सम्पन्न भएको यतिका समय भइसक्दा पनि भवन संचालन गर्ने बिषयमा नगरपालिका तथा वडाले खासै चासो देखाएको छैन । अहिले मासिक पच्पन्न सय रुपैयाँ भाडा तिरेर शान्तिनगरमा केन्द्र सञ्चालन गरिएको छ । एकातिर नयाँ भवन बनेर खाली भएको छ भने अर्कोतिर अनावश्यक भाडा तिरेर स्वास्थ्य केन्द्र संचालन भइरहेको छ ।

वडाध्यक्ष रामबहादुर क्षेत्री थापाका अनुसार स्वास्थ्य संस्था जाने बाटोको अवस्था जीर्ण रहेको र भवनको पनि उद्घाटन भइनसकेकाले नवनिर्मित भवनबाट सेवा शुरु नगरिएको हो । भवन ठडिएको भएपनि त्यहाँ आवश्यक पर्ने कम्पाउण्ड, पानी, बिजुली बत्तीको व्यवस्थापन गर्नै बाँकी भएको उनले बताए । ‘भाडा तिरेर बस्नु कत्ती पनि उपयुक्त होइन, तर पनि त्यहाँको सबै कुरा त तयार हुन पर्‍र्यो नि’, उनले भने ‘भाडा ५ हजार ५ सयले तिरिन्छ तर त्यहाँ जाने बाटो १० लाखले पनि बन्दैन, १० लाख रुपौयाँ जोहो गर्न सकिएको छैन ।’

स्वास्थ्य संस्थासम्म जाने बाटो गत असार १७ गतेको बर्षाका कारण आएको बाढीले बगाएको छ । बाटोको मर्मत हुन नसक्दा बाटो अस्तव्यस्त र जोखिमयुक्त बनेको छ । ठुलाठुला खाल्डाहरु बनेका छन् । नगरपालिकामा बाटो मर्मतका लागि प्रस्ताब गरिएता पनि बजेट नहुँदा समस्या आएको वडाध्यक्ष क्षेत्रीले बताए । उले भने ‘अहिले आर्थिक बर्षो अन्तिम क्षण भइहाल्यो, साउनको पहिलो हप्तासम्म सबै संरचना जोडेर सरसमानसहित उपलब्ध सेवा प्रवाह गर्ने योजनामा छौँ, नत्र झोलामा औषधी लिएर भए पनि सुरु त उतैबाट गरिन्छ । सधै भाडाको घरमा बसेर त भएन नि।’

यता, स्वास्थ्य संस्थाका इन्चार्ज मनिस श्रेष्ठले भने ७ लाख रुपैयाँको लागतमा कम्पाउन्ड निर्माण भइसकेको जानकारी दिए । बाटो मर्मतका लागि समेत नगरपालिकाबाट बजेट समेत छुट्टसिकेको छ तर काम शुरु नभएको बताए । उनका अनुसार स्वास्थ्य सेवा केन्द्रको लागि आवश्यक बत्ती र पोल खरिद भईसकेको छ भने एकहप्ताभित्र सबै काम गरेर सकिन्छ । पूर्वाधारहरुको विस्तारै व्यवस्थापन हुँदै गएपनि प्रमुख समस्या सुरक्षा व्यवस्थापन भएको श्रेष्ठले बताए ।

बस्तीदेखि टाढा र पृथ्वीराजमार्गको छेउमा स्वास्थ्य भवन एक्लो रहेको हुँदा अहिलेसम्म तीन चार पटक झयाल तथा विजुलीका स्वीचहरु तोडफोड जस्ता अपराधिक गतिविधि भएको उनले बताए । उनले भने ‘एक्लो र सुनसान ठाउँमा स्वास्थ्यको भवन बनेको छ, अहिले भइरहेका गतिविधिहरुले पनि कर्मचारी त्रसित छन्, कर्मचारीहरुको मनोबल उच्च बनाएर पो राम्रो सेवा दिन सकिन्छ, ढुक्कसंग काम गर्ने वातावरण वडा तथा नगरपालिकाले गरिदिनुपर्छ ।’

चालु आर्थिक वर्षमा नगरमा ६ वटा भवनको निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले बताए । उनका अनुसार नगरका वडा नं. २, ५, ६, ८ र ९ मा निर्माण सम्पन्न भई सेवा प्रदान भईरहेको तर वडा नं. ७ मा भने अझ सञ्चालनमा आउन नसकेको बताए । उनका अनुसार यो आर्थिक बर्षसम्म स्वास्थ्य शाखाले भाडाको व्यवस्था गरेको तर अब साउन शुरुभएपछि भाडाको व्यवस्था नगर्ने भएको छ ।

‘सम्बन्धित वडाका जनप्रतिनिधिहरुले नै यो हाम्रो संस्था हो, यसलाई निर्माण सम्पन्न भएको भवन तिर नै लैजानुपर्छ भनेर बिचार गर्नु पर्ने हो’, उनले भने, ‘भवनको विषयमा हामीले यसलाई उद्घाटनका लागि बोलाउनु र सञ्चालनमा ल्याउनु भन्न मिल्दैन ।’ स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले वडा नं. १० मा भने जग्गा उपलब्ध नहुँदा स्वास्थ्य केन्द्रको भवन कहाँ निर्माण गर्ने भनेर अन्योल रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker