मुग्लिन-पोखरा सडक विस्तारः पानीपर्दा हिलो, घाम लाग्दा धुलोले यात्रा सकसपूर्ण

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक चार लेनमा विस्तारको काम भैरहेको छ । विस्तारमा रहेको राजमार्ग वर्षका कारण अहिले हिलाम्मे हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ ।
तनहुँको सदरमुकाम दमौलीबाट पोखराको विजयपुर पुल -कास्की) सम्मको दूरी करिब ४३ किलोमिटर छ । राजमार्ग सहज हुँदा यो दूरी एक घण्टामा पुरा गर्न सकिन्छ । तर, मंगलबार बिहान यो दुरी पार गर्न करिव साढे ३ घण्टा लागेको डिपि अधिकारी बताउँछन् ।
दमौलीबाट बिहान साढे ७ बजे बिजयपुरका लागि बस चढेका अधिकारी करिव ११ बजे पुगेका थिए । उनले भने, ‘सोमबार दिउँसोदेखि परेको पानीले राजगमार्ग हिलम्मे बनेको छ । सवारी साधन गुड्न सकस भएको छ ।’
राजमार्गको आबुखैरेनी-पोखरा खण्ड विस्तार कार्य भैरहदा सडकको अधिकांश भाग भत्काइएको छ । त्यही राजमार्ग भएर दिनहुँ हजारौं सवारी साधन गुड्छन् ।

मुग्लिन-पोखरा खण्डलाई दुइ भागमा विभाजन गरी विस्तारको काम भइरहेको छ । मुग्लिन-पोखरा सडक योजना अन्तर्गत आँबुखैरेनी-जामुनेलाई पूर्वी खण्ड र जामुने-पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तार कार्य भइरहेको छ ।
सडक फराकिलो बनाउनका लागि अहिले आँबुखैरेनीदेखि पोखरासम्मैको भाग भत्काइएको छ । पूर्वी खण्डका अधिकांश भाग कालोपत्रे भइसकेपनि पश्चिम खण्डले भने अपेक्षित प्रगति गर्न सकेको छैन । वर्षका कारण विस्तार भइरहेको सडक हिलाम्मे हुन पुगेको छ । सडक चिप्लो हुँदा सवारी साधन गुड्नै सकस हुने गरेको छ । राजमार्गमा यात्रा गर्ने हजारौं यात्रुले सास्ती झेल्नुपरेको छ ।
सडक हिलाम्मे भएकाले सवारी चालकलाई ट्रयाक पहिचान गर्न समेत सकस भएको अधिकारीले बताए । उनले भने, ‘बाटोमा हिलोले गर्दा हिडिसक्नु छैन । साना चारपांग्रे र दुइपांग्रे सवारी साधनलाई झनै साँस्ती झेल्नुपरेको छ।’
पश्चिम खण्डको जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, गाच्छेपानी लगायतका ठाउँमा यात्रा निकै सकसपूर्ण बनेको छ । ठाउँठाउँमा सवारीसाधन चिप्लिने डर छ । डाइभर्सनका कारण बाटो साँघुरो भएको छ ।

एकतर्फी भएपनि कालोपत्रेको दुरी बढाइ सहज यात्रा गर्ने वातावरण बनाउन लागिपरेको पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेल बताउँछन् । उनका अनुसार हालसम्म करिव ११ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ ।
चिनियाँ कम्पनी यनर्हुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा यस खण्डको सडक विस्तारका लागि वि.सं. २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता म्याद सक्किन ४ महिना रहदा करिव २३ प्रतिशत भौतिक प्रगति देखाएको छ ।

यस्तै, पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर सडक चार लेन कालोपत्र गरिएको छ भने ८ किलोमिटर २ लेन कालोपत्र भइसकेको छ । यस खण्डको विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । वि.सं. २०७७ माघ १७ गते सम्झौता गरी २०७८ वैशाख २ गतेबाट काम सुरु गरिएको थियो । वि.सं. २०८१ वैशाखसम्म काम सक्ने गरी सम्झौता भएपनि भौतिक प्रगति भने करिव ५६ प्रतिशत देखाइएको छ । कोरोना भाइरस संक्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको योजनाले जनाएको छ ।










