तनहुँ उद्योग वाणिज्य संघले बनाइदियो प्रशासनका दुई कोठा, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा शुरु

दमौली : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको जिल्ला प्रशासन कार्यालय तनहुँका दुई कोठा मर्मत गरी तनहुँ उद्योग वाणिज्य संघले आइतबार कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संघले करिब दुई लाख २० हजार रुपैयाँ खर्च गरी प्रशासन कार्यालयका कोठाहरू मर्मत–सम्भार गरेको हो। संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले मर्मत सम्पन्न कोठाको चाबी प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई आइतबार हस्तान्तरण गरे ।
मर्मतका क्रममा कार्यालयका दुई कोठामा प्लास्टर, रङरोगन, झ्यालढोका र विद्युत् मर्मतका काम गरिएको संघले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयको अधिकांश भौतिक संरचना क्षतिग्रस्त भएपछि सेवा प्रवाह ठप्प भएको थियो ।
संघका अध्यक्ष मिश्रले जनताले प्रशासनका अत्यावश्यक सेवा तत्काल पाउन सकुन् भन्ने उद्देश्यले तत्काल मर्मत कार्य अघि बढाइएको बताए। उनका अनुसार संघले नागरिकताको काम पहिले नै सञ्चालनमा आइसकेकाले राहदानी र राष्ट्रिय परिचयपत्र सेवाका कोठा मर्मतलाई प्राथमिकतामा राखेको हो ।
उनले भने, “जनतालाई सहज रूपमा सेवा दिन सकियोस् भन्ने सोचका साथ हामीले प्रजिअसँग छलफल गरेर तत्काल आवश्यक दुई कोठा मर्मत गरेका हौँ। विपद्का बेला सरकारले मात्रै होइन, सबै निकायले हातेमालो गर्नुपर्ने देखिन्छ ।”
यस्तै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आन्दोलनका कारण कार्यालयमा भौतिक क्षति पुगेकाले सेवा सञ्चालनमा कठिनाइ भएको बताए । उनले भने, “जेनजी आन्दोलनपछिका क्षतिहरूका कारण कार्यालय सञ्चालन गर्न समस्या थियो । उद्योग वाणिज्य संघको सहयोगले अब राष्ट्रिय परिचयपत्र र राहदानी सेवा सुरु गर्न सहज भएको छ ।”
उनका अनुसार आन्दोलन भएको चौथो दिनदेखि नागरिकताको सेवा सञ्चालनमा आएको थियो, तर उपकरण अभावका कारण राष्ट्रिय परिचयपत्र सेवा सुरु गर्न ढिलाइ भएको हो। “अब दुई सेट उपकरण प्राप्त भएकाले आइतबारदेखि राष्ट्रिय परिचयपत्र सेवा पुनः सुरु गरिएको छ”, अधिकारीले बताए ।
यसअघि पाँच सेट उपकरण भएको कार्यालयमा अहिले दुई वटामात्र उपकरण उपलब्ध भएकाले सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने उनको भनाइ छ। राहदानी सेवाका लागि विवरण संकलन गर्ने उपकरण अझै आइपुगेको छैन। अधिकारीका अनुसार अहिले प्रिन्ट भएर आएका राहदानी वितरण भइरहेका छन् भने नयाँ विवरण संकलन कार्य सुरु हुन केही समय लाग्नेछ ।
संघले गरेको सहयोगप्रति प्रमुख जिल्ला अधिकारी अधिकारीले धन्यवाद व्यक्त गर्दै सरकारी सेवामा निजी क्षेत्रको साथ र सहकार्यले जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताए ।










