सय वर्षको उमेरमा परिचयपत्र !

भञ्ज्याङ समाचारदाता (आँवुखैरेनी)

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ सत्रसयकी एक वृद्धाले सय वर्षको उमेरमा ज्येष्ठ नागरिकको परिचयपत्र पाएकी छन् । वि.सं. १९७६ पुस ५ गते जन्ममिती भएकी स्थानीय मनकुमारी लामिछानेले ज्येष्ठ नागरिकको परिचयपत्र पाएकी हुन् । मनकुमारीलाई आइतबार गाउँपालिकाकी उपाध्यक्ष पुष्पदेवी श्रेष्ठले उनकै वडामा आयोजित शिविरमा परिचयपत्र उपलब्ध गराएकी हुन् ।

गाउँपालिकाले सञ्चालन गरेको परिचयपत्र वितरण शिविरबाट ज्येष्ठ नागरिकको परिचयपत्र पाउँदा सय वर्षीया मनकुमारी निकै हार्षित देखिन्थिइन् । कपाल सेतै फुलेको र चाउरी परेको अनुहारमा परिचयपत्र पाउदाको खुसी झल्किन्थ्यो । परिचयपत्र बुझ्दै सय वर्षीया मनकुमारीले भनिन्, ‘अब मैले पनि वृद्धाभत्ता पाउने भए !’

उमेरले डाँडो काटेपनि अहिलेसम्म एकल र वृद्धा नागरिकले राज्यबाट पाउने सुविधा उपभोग गर्नबाट बञ्चित बनेकी मनकुमारीमा अब वृद्धाभत्ता पाउने आशा जगाएको छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेसंगै मनकुमारीले पनि आइतबार परिचयपत्र पाएकी हुन् । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेपछि वडा नं. १ का ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका तथा अन्य लक्षित वर्ग गरी ७९ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष श्रेष्ठले बताइन् ।

सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता पाउन समेत बञ्चित रहेकी मनकुमारीलाई परिचयपत्र उपलब्ध गराउँदै गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठले भनिन्, ‘गाउँपालिकाले पहिले पनि ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेका थियौ तर मनकुमारी लगायत अन्यसम्म यो सुचना सहज रुपमा नपुग्दा समयमै परिचयपत्र पाउनबाट बञ्चित हुनुपर्‍यो ।’

‘हामी वडावडा र टोलटोलमा पुगेर ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका तथा अन्य लक्षित वर्गको पहिचान गरी समयमै परिचयपत्र उपलब्ध गराउन लागि परेका छौं’, उपाध्यक्ष श्रेष्ठले भनिन्, ‘ज्येष्ठ नागरिक तथा लक्षित वर्गले ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्नबाट अब कोही बञ्चित हुनु पर्दैन ।’

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गलाई परिचयपत्र वितरण र राज्यबाट पाउने सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन लागि परेको बताए । उनले भने, ‘यस आर्थिक वर्षमा गाउँपालिका भित्रका करिव १ हजार ५ सय जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका तथा अन्य लक्षित वर्गलाई परिचयपत्र वितरण गर्र्छौ ।’

गाउँपालिकाले चैत ९ गते वडा नं. २ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । यस्तै, वडा नं. ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker