तुवाँलोको मारमा पर्यटन

धनबहादुर गुरुङ/कास्की

कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ ।

नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुग्नुभएकी चितवनकी पवित्रा सापकोटा हिमाल देख्न नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो। रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उहाँको भनाइ थियो । “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भन्नुभयो, “तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ । हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन । अलि खल्लो मससुस भयो ।”

घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउँन नपाउँदा नरमाइलो लागेको बताउनुहुन्छ । घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुग्नुभएका पर्यटक त्यसै फर्कनुपरेको उहाँले बताउनुभयो । “घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ । यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ”, गुरुङले भन्नुभयो, “तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी र्फकनुभएको छ ।”

केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । घान्द्रुकमा नयाँ वर्षको दिन दुइ हजार एक सय पर्यटक पुगेको उहाँले बताउनुभयो । अहिले त्यो संख्या घटेर दैनिक तीन सयमा झरेको छ ।

कुहिरोको प्रभाव पोखरामा पनि परेको छ । कोरोनापछि थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षले केही आशा जगाए पनि कुहिरोले मारमा पारेको छ । चैतको अन्तिम साता लेकसाइड क्षेत्रको होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतको हाराहारीमा रहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । तर, त्यो घटेर ३० प्रतिशतमा झरेको अध्यक्ष सुवेदीको भनाइ छ । तुवाँलोका कारण पर्यटन क्षेत्रमा निकै नोक्सान खेप्नुपरेको उहाँले बताउनुभयो ।

पाहुना आउने अपेक्षा भइरहँदा तुवाँलोका कारण विमानस्थलमा उडान अवरोध हुँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उहाँले जानकारी दिनुभयो । “यो बेला धेरै आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए । हाम्रो अनुमानमा कम्तिमा पाँचहजार पर्यटक एकसातामा प्रभावित भए । हवाई उडान प्रभावित हुँदा सबैतिर डामाडोल बनायो”, सुवेदीले भन्नुभयो, “पर्यटन क्षेत्रले तुवाँलोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ ।’

अहिले पोखरा-मुग्लिन बाटो स्तरोन्नतिको चरणमा छ । सोही कारण धुलो र लामो समय लाग्ने झन्झटले पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन् तर, कुहिरोले उडान नहुँदा यात्रु अलपत्र परेको सुवेदीले बताउनुभयो । “होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन्, त्यसले गर्दा होटलका कोठा नै रित्तै छन्”, सुवेदीले भन्नुभयो ।

बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले जानकारी दिनुभयो । एकसातामा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका थिए । “भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो । पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो”, प्रमुख गौतमले भन्नुभयो । पोखरा विमानस्थलमा उडान हुनका लागि तीन हजार सात सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker