बन्दिपुरका पहिरो पीडित परिवारलाई राहत वितरण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर
अविरल झरीसंगै आएको बाढीपहिरोबाट तनहुँको बन्दिपुर गाउँपालिका-३ तामुङका बाढीपहिरो पीडितलाई राहत रकम उपलब्ध गराइएको छ । सरकारले पहिरोमा परि ज्यान गुमाएका यहाँका दुइ परिवारलाई राहत रकम उपलब्ध गराएको हो । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले मृतक परिवारलाई संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका छन् ।
संघीय सरकारको तर्फबाट प्रति मृतक दुइ लाख रुपैयाँको राहत रकम मृतक सरस्वती थापा र हरिमाया नेपालीको परिवारलाई उपलब्ध गराइको छ । राहत रकम हस्तान्तरण गर्दै सांसद श्रेष्ठले प्राकृतिक प्रकोपमा परि जनधनको क्षती भएकाहरुलाई सरकारले राहत उपलब्ध गराउने बताए । ज्यान गुमाउनेको परिवारलाई दुइ लाख र घर पुर्ण रुपमा क्षती भएमा चार लाख रुपैयाँ उपलब्ध गराउने सांसद श्रेष्ठले जानकारी गराए ।
यस अघि मृतक परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट प्रति मृतक ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराइसकिएको छ । गत असार १७ गते बिहान गएको पहिरोमा परि तामुङमा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएका थिए । सो पहिरोमा परी ३५ वर्षीय सुभाष थापा, ६६ वर्षीय लिलबहादुर थापा र ६६ वर्षीया दाउरीमाया थापा घाइते भएका छन् । पहिरोले उक्त स्थानका एक दर्जन भन्दा बढि घरमा क्षती पुर्याएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वास्तविक पीडितहरुलाई सरकारले राहत उपलब्ध गराउने बताए । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी दिनेशराज मैनाली र स्थानीय जनप्रतिनिधिहरुले पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । यसैगरि सांसद श्रेष्ठ र प्रजिअ आचार्यको टोलीले पहिरोले क्षती भएको व्यास-१२ को देउराली र छिर्कनको अवस्थाको निरिक्षण गरेका थिए ।










