डेङ्गु संक्रमणको “हटस्पोट” बन्दै दमौली, दैनिक सयको हाराहारिमा लक्षण सहितका संक्रमित भेटिदै
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको सदरमुकाम दमौली डेङ्गु संक्रमणको हटस्पोट बन्दै गएको छ । बिगत हप्त दशदिन यता व्यास नगरपालिकाको शहरी क्षेत्रमा डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय तनहुँ, व्यास नगरपालिका तथा अन्य सरोकारवाला निकायले डेङ्गु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि ‘खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गरेपनि खासै प्रभावकारी बन्न सकेको छैन ।
दमौली अस्पताल तथा दमौलीका नीजि स्वास्थ्य संस्थामा अहिले दैनिक सयौंको संख्यामा विरामीहरु उपचार तथा डेङ्गु परीक्षणका लागि पुग्ने गरेका छन् । पोखराका स्वास्थ्य संस्था पनि दमौलीबाट उपचारका लागि गएका डेङ्गुका विरामीले भरिभराउ हुन थालेका छन् ।
दमौली बजार भित्र मात्र दैनिक सय जनाको हाराहारीमा संक्रमित भेटिन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘दमौलीमा डेङ्गु संक्रमितको संख्या हृवत्तै बढेको छ । स्वास्थ्य संस्थाहरुमा पनि विरामीको चाप बढ्दै गएको छ’, प्रमुख अधिकारीले भने, ‘डेङ्गु संक्रमण देखिन थालेसंगै सरोकारवाला निकायसंग समन्वय गरी ‘खोज र नष्ट गर’ कार्यक्रम तथा सचेतनामूलक कार्यक्रमहरु अगाडि बढाएपनि सर्वसाधारणले समेत लापरवाही गर्दा डेङ्गु संक्रमण फैलन गएको पाइएको छ ।’
डेङ्गु संक्रमण गर्ने जातका लामखुट्टे बस्ने स्थानको सरसफाई गर्न, पानी जम्न नदिन तथा शरीर ढाक्ने गरी कपडा लगाउन, झुलटाँगेर मात्र सुत्न सर्वसाधारणलाई अनुरोध गर्ने गरिएपनि त्यो नहुँदा डेङ्गु संक्रमण बढ्न गएको उनको भनाई छ ।

डेङ्गु संक्रमित बढ्दै गएपछि अहिले दमौली अस्पतालमा डेङ्गु परीक्षणको किट प्रयाप्त मात्रमा व्यवस्था गरिएको प्रमुख अधिकारीले बताए । उनले भने, ‘सर्वसाधारणलाई सहज रुपमा परीक्षण तथा उपचारको दायारमा ल्याउनका लागि दमौलीका निजी स्वास्थ्य संस्थामा पनि परीक्षण शुल्कमा एकरुपता (छ सय रुपैयाँं) कायम गरिएको छ । संक्रमण नियन्त्रण बाहिर नजाहोस् भनि थप प्रभावकारी कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीमा हामी लागेका छौं ।’
यस्तै, व्यास नगरपालिकाको बजार क्षेत्रमा डेङ्गु संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनिकरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘डेङ्गु संक्रमणलाई थप बढ्न नदिनका लागि अहिले वडावडा, टोलटोलमा खोजा र नष्ट गर कार्यक्रम सञ्चालन गरिएको छ । संक्रमित धेरै देखिन थालेकाले आवश्यक किट खरिद गरी नगरपालिकाकै पुरानो भवनमा अस्थायी क्लिनिक सञ्चालन गरी परीक्षण तथा उपचार सहज बनाउने तयारी गरेका छौं ।’
‘हामीले सबै नगरबासिलाई लामखुट्टेको टोकाइबाट बच्न सुरक्षाको उपाय अपनाउन अनुरोध गर्दै आएका छौं । घर वरपरको वातावरण सरसफाई, पानी जमेका खाल्टाखुल्टी पुर्ने, घरको एसी, गमला तथा अन्य भाडामा पानी जम्न नदिन सुझाएका छौ’, नगरप्रमुख न्यौपानेले भने, ‘नागरिकस्तरबाट पनि अलिकति लापरवाहीजन्य गतिविधि भइरहेका छन् । अहिले मौसम पनि त्यस्तै छ । खाल्टाखुल्टी, खेतमा पनि सङ्लो पानी स्थिर अवस्थामा रहेको हुँदा डेङ्गु संक्रमण बढेको हुनसक्छ । नियन्त्रण, सहज परीक्षण र उपचारका लागि हामीले हाम्रा सबै संयन्त्रलाई परिचालित गरेका छौं ।’
नगरपालिकाले डेंगु सम्बन्धी टोलटोलमा सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेङ्गुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले टोलटोलमा गएर डेङ्गु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

‘डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालनलाई तीब्रता दिइएको छ’, उनले भने, ‘वडावडामा स्वास्थ्यकर्मीहरूका लागि डेङ्गु रोग सम्बन्धी निग्रानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।’
दमौलीमा भदौ महिनाको अन्तिम सातादेखि डेङ्गुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार दमौलीमा मात्रै करिब १ हजार ५०० जनामा डेङ्गु संक्रमण देखिएको छ । आइतबारमात्रै करिब एक सय जनाको हाराहारिमा संक्रमण देखिएको छ । लक्ष्यण सहितका संक्रमित भेटिने गरेकाले अवस्था जटिल बन्ने खतरा बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।
टायर, जार, नाली लगायतमा जमेको पानीमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्ने सुझाइएको छ । यस्तै, घर वरपर फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने हुँदा सर्वसाधारणलाई सचेत गराइएको छ ।
यस्तै, आइतबार बसेको नगर कार्यपालिकाको नियमित बैठकमा तनहुँ जिल्लामा करिब १ हजार ६०० जनामा डेङ्गु संक्रमितका बिरामीको विवरण मध्ये करिब १ हजार ३५० बिरामी व्यास नगरपालिकामा रहेको विवरण पेश गरिएको थिय ।
नगरका शहरी वडाहरुमा अत्याधिक असर परेको, डेङ्गुको कारणले केही व्यक्तिहरुको मृत्यु समेत भएकाले तत्काल प्रभावकारी रुपमा संक्रमण रोकथाम, नियन्त्रण तथा परीक्षण र उपचारको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै, कार्यपालिका बैठकले दमौली लगायतका आसपासका क्षेत्रमा सेतो पुतलीको प्रकोप पनि फैलिरहेकाले सेतो पुलतीबाट बच्नका लागि सतर्क र सजग रहन सम्पुर्ण नगरवासिलाई अनुरोध गरिएको छ ।










