पारिवारिक सम्बन्ध बिथोल्दै “मोबाइल र सामाजिक सञ्जाल”
नारायण खड्का/तनहुँ

प्रविधिले हरेक क्षेत्रमा आफ्नो पकड जमाएको छ । प्रविधिको प्रयोग गरी अहिले मानिसले आफ्नो दैनिकीलाई सहज बनाएका छन् । प्रविधिकै कारण विश्व अहिले मानिसको मुीमा कैद भएको छ । सेकेण्ड भरमै कुनै पनि मुलुकको खबर सहजै थाहा पाउन सकिन्छ भने जटिल भन्दा जटिल काम पनि प्रविधिको प्रयोग गरी सहजै पूर्णता दिन पनि सकिएको छ ।
तर, यही प्रविधिलाई सहि रुपमा प्रयोग गर्न नसक्दा यसले भयंकर घटना समेत निम्त्याउने गरेको छ । विशेष गरी नेपाली समाजमा पछिल्लो समय प्रविधिको सहि ढंगले प्रयोग गर्न नसक्दा सकरात्मक भन्दा नकरात्मक असरहरु देखिन थालेका छन् ।
अधिकांश नेपालीको हातहातमा अहिले स्मार्ट फोन (मोबाइल)को पहुँच छ । स्मार्ट फोन बोक्ने अधिकांश इन्टरनेटसंग जोडिएका पनि छन् । इन्टरनेटका माध्यमबाट स्मार्ट फोन बहाकले प्रयोग गर्ने सामाजिक सञ्जाल (फेसबुक, टिकटक, म्यासेन्जर, भाइबर आदि)ले फाइद र वेफाइदा दुबै दिइएको पनि छ । मनोरञ्जन त छदैछ, सूचना तथा सम्वाद आदानप्रदानमा पनि सहजता भएको छ । तर, स्मार्ट फोन र सामाजिक सञ्जालकै कारण पारिवारिक सम्बन्ध विथोलिदै पनि गएको छ ।
उदाहरण नं. १
साउन महिनाको पहिलो साता दमौलीका एक दम्पती घरझगडाको समस्य लिएर जिल्ला प्रहरी कार्यालय तनहुँ पुगे । श्रीमानले सधै कुटपिट गर्ने भन्दै श्रीमतीले मान्छे झिकाई छानविन गरिपाउ भन्दै प्रहरीमा निवेदन दर्ता गरिन् । श्रीमतीको आरोप छ, ‘श्रीमानले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गर्छन् ।’
२०७८ माघ महिनामा बिवाह (भागी विवाह) गरेका उनीहरुको पहिलो महिना नबित्दै झगडा हुन सुरु भयो । ‘पहिलाको श्रीमतीसंग सम्बन्धविच्छेद भइसकेको रहेछ, मेरो पनि पहिलो घरबार ब्रि्रेकाले हप्तादश दिन बोलेकै भरमा बिवाह गरेका थियौं’, श्रीमतीले भनिन्, ‘तर, बिवाह भएको एक महिना बितेपछि अरुको कुरा सुनेर मलाई बिनाकारण कुटपिट गर्न थाल्नुभयो र अहिले प्रहरीकोमा न्याय माग्न आएकी छु ।’
श्रीमान सवारी चालक हुन् । भाँडाको जीप चलाउने क्रममा भेटघाट भएपछि अन्तरजात भएपनि दुबैको सहमतिमा विवाह गरेका रहेछन्। श्रीमानले भने, ‘सबै राम्रै चलिरहेको थियो, उनले मोवाइल लिन थालेपछि हाम्रो सम्बन्धमा खटपट आएको हो । हाम्रो सम्बन्धमा स्मार्टफोन बाधक बनेको छ ।’
श्रीमतीले आफुखुसी मोवाइल खरिद गरी लिएको तर मोवाइल खरिद गरेको विषयमा आफुलाई केहीपनि नभनेको श्रीमान्को गुनासो थियो। ‘हप्तादिनदेखि मोवाइल किनेकी रहिछ, म घरमा हुँदा मोवाइल लुकाउने र घरबाट निस्केपछि आफन्त र अरुसंग बोल्दि रहिछ’, उनले भने, ‘मलाई उसले श्रीमान् सोच्थि भने श्रीमान् श्रीमातीमा यति कुरा त साटासाट हुन्थ्यो होला नि ? मलाई उसको मोवाइलबाट एक पटकपनि फोन गरेकी छैन र मोवाइल किनेछु पनि भनिन ।’
अहिले उनीहरुको झगडाको विषय स्मार्ट फोन बनेको छ । यसै कारण दुइजना बिच सम्बन्ध अन्त्य गर्ने भन्दै श्रीमती प्रहरी कार्यालयमा आइपुगेकी थिइन् । स्मार्ट फोनको गलत प्रयोगबाट कैयौंको घरबार बिग्रिएका छन् । कैयौंको सम्बन्ध विच्छेद पनि भएका छन् । स्मार्ट फोन र समाजिक सञ्जालको गलत प्रयोगका कारण अहिले नेपाली समाजलाई खलबल्याउँदै लगेको छ ।
उदाहरण नं. २
यस्तै, तनहुँको व्यास नगरपालिकाका गिता र हरि (नाम परिवर्तन)को घरमा पनि दैनिक जसो झगडा हुन थाल्यो । श्रीमान् बैदेशिक रोजगारीमा गएका थिए भने घरमा एक/एक जना छोराछोरी र आमा बस्दथे । श्रीमान् पनि विदेश र छोराछोरी पनि पढाइमै व्यस्था हुन थालेपछि गिताको सामाजिक सञ्जालमा परपुरुषसंग चिनजान र बोलचालले गति लिन थाल्यो ।
हरि विदेशबाट फर्किएपछि बिनाकारण गिता र हरि बीच झैझगडा हुन थाल्यो । झगडाको मुख्य कारण थियो मोबाइल र समाजिक सञ्जाल । श्रीमान घरमा आएपछि गिता लुकिछिपी परपुरुषसंग मोबाइलमा कुराकानी गर्ने, समाजिक सञ्जाल तथा फेसबुक म्यासेन्जरमा कुराकानी गर्ने जस्ता विषयनै उनिहरुको झगडाको माध्यम बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का बताउँछन् ।
छोराछोरीको भविष्य र उनिहरुलाई कुनै असर नपार्ने भनि प्रहरीको रोहवरमा घरपरिवारका सदस्य बीच आगामि दिनमा कुनै विवाद नगर्ने सहमित बीच अहिले हरि र गिता मिलापत्र गरी बसेका छन् ।
सानैमा विवाह, उमेर पुगेपछि सम्बन्ध विच्छेद
तनहुँको व्यास नगरपालिका वडा नं. १४ की सेती (परिवर्तन नाम)ले १५ वर्षको उमेरमा २०७० सालमा प्रेमविवाह गरिन् । सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उनले यही साउनको पहिलो साता जिल्ला अदालत तनहुँमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएकी छन् ।
पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएका कारण उनले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी हुन् । ‘सानैमा नजानेर विवाह गरियो, मैले धेरै दुःख पाएँ, अब म उसँग बस्न सक्ने अवस्थामा छैन’ उनले भनिन्, ‘श्रीमानले दिएको पीडा सहन नसकेपछि सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’
व्यास नगरपालिका वडा नं. १ की मादी -परिवर्तिन नाम)का दुइ वटा छोराछोरी छन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनले पनि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छिन् । उनले भनिन्, ‘२८ वर्षकै उमेरमा श्रीमानसँग छुट्टएिर बस्ने दिन आउला भन्ने सोचेकै थिइन ।’
भिमाद नगरपालिकाकी २४ वर्षकी महिलाले २०७९ असारमा सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेकी छन् । २० वर्षको उमेरमा वैवाहिक जीवन सुरूआत गरेकी उनले श्रीमानले दिनहुँ जसो शारीरिक यातना दिने र कुटपिट गरेपछि माइतीमा बस्दै आएकी छन् । ‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिन, तँ आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘श्रीमान्को व्यवहार र बचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगें ।’
यी त स्मार्ट फोन र समाजिक सञ्जालको गलत प्रयोगले निम्त्याएको प्रतिनिधिमुलक घटना मात्र हुन् । तनहुँमा उमेर नपुग्दै विवाह गर्ने र बुझने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने घटना पनि बढेका छन् । जिल्ला अदालत तनहुँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । श्रेस्तेदार मिनबहादुर कुँवरका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेदको संख्या ७०७ रहेको छ । गएको साउनमा ५७, भदौमा ६१, असोजमा ४८, कात्तिकमा ६८, मंसिरमा ७३, पुसमा ७४, माघमा ६४, फागुनमा ७९, चैतमा ६७, वैशाखमा ५०, जेठमा ५७ र असारमा ४९ मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा ६७८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा ४६३ फर्छ्यौट भएका छन् भने २१५ को फैसला हुन बाँकी छ । गएका आर्थिक वर्षमा जिल्ला अदालतमा कुल १ हजार ५१ मुद्दा दर्ता भए जसमा ७४७ मात्रै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। श्रेस्तेदार कुँवर भन्छन्, ‘जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन् ।’
अदालतको विवरण अनुसार सम्बन्ध विच्छेदका मद्दामा अधिकांश २० देखि ३० वर्ष उमेर समुहका छन् । ‘विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं, तर उनीहरु छुट्टनिे भन्छन्’, श्रेस्तेदार कुँवर भन्छन्, ‘सम्बन्ध विच्छेदपछि आमा बुवाले त स्वतन्त्र जीवन बिताउलान् तर त्यसको प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।’
आमा बुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिवक्ता सरिता भण्डारी बताउँछिन् । उनले भनिन्, ‘छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन् । बच्चाहरु सानो हुँदा अभिभावकहरु कुनै कारणले सम्बन्ध विच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन् ।’
‘सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले हुने गरेका छन्’, उनले भनिन्, ‘कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनु लगायतका कारणले पहिले सम्बन्ध विच्छेद हुन्थे भने पछिल्लो समय मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग तथा वैदेशीक रोजगारीका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेका छन् ।’
स्मार्ट फोन, सामाजिक सञ्जालको दुरुपयोग, घरायसी झैझगडाको मुख्य समस्या लिएर महिला पुरुष आउने गरेको प्रहरी नायव उपरीक्षक खड्का बताउँछन् । कार्यालयमा दर्ता भएका निवेदनमाथी दुवै पक्ष बोलाएर छलफल गर्दा मादक पदार्थ पिएर कुटपिट, समाजिक सञ्जाल र मोवाइलको दुरुपयोग, श्रीमान वैदेशिक रोजगरीमा र श्रीमति परपुरषसंग सम्बन्धराखि श्रीमान्को पैसा सकेको जस्ता कारणहरु देखिएको उनि बताउँछन् ।
प्रहरी कार्यालयमा घरेलुहिंसा सम्बन्धिका निवेदन बढ्दो देखिएपनि समाजमा भने हिंसा कम भएको उनको बुझाइ छ । ‘हिंसा पहिलेपनि हुन्थे तर समाज, घरपरिवारका डरले बाहिरा आउदैन्थे’, उनले भने, ‘अहिलेका मानिसहरु शिक्षित छन्, सचेत छन्, हिंसा सहेर बस्नुहुन्न भन्छन् र प्रहरीमाथिको विश्वासका कारण पनि हरेक प्रकारका घटना लिएर प्रहरीमा न्याय खोज्न आउँछन् ।’
‘श्रीमान श्रीमतीको झैझगडाको प्रत्यक्ष असर छोराछोरी र घरपरिवारमा देखिने गर्छ’, प्रहरी नायव उपरीक्षक खड्का भन्छन्, ‘अहिले सबै शिक्षित छन्, सामाजिक सञ्जाल तथा स्मार्ट फोनमा आउने समाचार हेरेर सबै सचेत पनि भएका छन् । अब सबै सभ्य भए घरेलु हिंसा न्युनिकरण हुन सक्थ्यो । सबैले प्रविधि र सामाजिक सञ्जालको सहि प्रयोग भए पछिल्लो समय समाजमा घटेका घटना पनि न्युनिकरण हुन्छन् ।’
जिल्ला प्रहरी कार्यालय तनहुँको आर्थिक वर्ष २०७८/०७९ को तत्थ्यांकमा घरेलु हिंसा सम्बन्धी २४५ वटा निवेदन दर्ता भए । जसमध्ये शारीरिक यातना (कुटपिट) सम्बन्धी ८८, मानसिक यातना (वास्ता नगरेको तथा गालिगलौज) सम्बन्धी ६०, आर्थिक यातना (खाना लाउन नदिएको) सम्बन्धी ३५, श्रीमान्/पुरुष पीडित भएको २४ र स्थानीय झैझगडा ३८ गरी २४५ वटा घरेलुहिंसा सम्बन्धी निवेदन तथा अन्य ठाडो उजुरी दर्ता भएका छन् । जसमध्ये १३७ वटा मिलापत्र, ५३ वटा अदालतीय प्रक्रियामा र ५५ वटा बाँकी रहेको कार्यालयले जनाएको छ ।
यस्तै, २०७७/०७८ मा २११ वटा घरेलु हिंसाका निवेदन परेकोमा १६७ वटा मिलापत्र ३८ वटा अदालतीय प्रक्रियामा गएको र ६ वटा काम गर्न बाँकी रहेका छन् । २०७६/०७७ मा २११ वटा निवेदन दर्ता भएकामा १७३ वटा मिलापत्र र ३८ वटा अदालतीय प्रक्रियामा गएका छन् । बार्षिक घरेलु हिंसा सम्बन्धीका निवेदनको संख्या बढ्दै गएका छन् ।