भिमाद नगरपालिका : “समयको माग अनुसार शिक्षा क्षेत्रलाई अगाडि बढाएका छौं”

भिमाद : शिक्षा ऐनमा भएको व्यवस्था अनुसार भिमाद नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउँदै लगेको छ । स्थानीय आवश्यकतालाई ख्याल गर्दै आन्तरिक स्रोत समेत परिचालन गरी गुणस्तरीय शिक्षा प्रदानका लागि नगरपालिकाले कार्यक्रमहरु अगाडि बढाइरहेको नगरप्रमुख दधिराज सुवेदीले बताए ।
‘समयको माग अनुसारको पाठ्यक्रम नहुँदा शिक्षित बेरोजागरीको समस्या देखिनुका साथै अध्ययनका नाममा विदेश जानेको संख्या पनि दैनिक जसो बढ्दै गएको हुँदा यस्ता कार्यलाई कसरी व्यवस्थापन गर्ने भनि सरोकारवालाहरुसंग छलफल गर्दै अगाढि बढेको छौ’, नगरप्रमुख सुवेदीले भने, ‘ यसरी हेर्दा शिक्षाको स्तर विद्यार्थीले चाहेअनुसार गर्दिनुपर्छ भन्ने आएको छ । विद्यार्थीको क्षमता र चाहना अनुसारको पठनपाठन नहुँदा सिद्धार्थ माविमा सञ्चालन गरिएको प्राविधिक धारको कृषि विज्ञान पढ्नका लागि विद्यार्थीनै आएनन् ।’‘भिमादमा सिटिइभिटी अन्तर्गतको तनहुँ प्राविधिक शिक्षणलय छ त्यहाँ पनि विद्यार्थी पढ्न आउने संख्या घट्दै गएको छ’, उनले भने, ‘यो प्राविधिक धारको पनि नयाँ र आकर्षण गर्न सक्ने अनमी, कम्प्युटर, स्वास्थ्य तर्फको एचएका विषयलाई प्राथमिकता दिनुपर्ने हो कि ? अब नयाँ तरिकाले जाने सोचेका छौैं । अर्को पढ्दै कमाउँदैको सम्भावना छ यसको अध्ययन गरेर यो कत्तिको सम्भावना छ, विद्यार्थीको चाहाना के छ यसको लेखाजोखा गरी कार्यान्वयनमा लग्ने तयारी भएको छ ।’
‘विद्यालयको पुर्वाधार विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको छ । प्रविधिमैत्री शिक्षाको विकासका लागि विद्यालयहरुलाई डिजिटल वोर्डदेखि लाईव्रेरीसम्मका व्यवस्थापन गर्दै आएका छौं । शिक्षाको स्तर उठाउनका लागि तल्लो कक्षादेखि नै स्तरीय बनाउने भनेर आधारभूत तहको परीक्षा एसइइको मोडलमा लिन थालिएको छ’, नगरप्रमुख सुवेदीले भने, ‘परीक्षा र पढाईको विधि परिवर्तन गरेर शिक्षाको स्तर उठाउन खोजिरहेका छौं । पूर्वाधार विकास, शैक्षिक सामाग्री, विद्यालयको पठनपाठनको व्यवस्था, परीक्षाको व्यवस्था नयाँ तरिका, दिवा खाजा सरकरले दिएको पैसामा पालिकाले थपेर व्यवस्थापन गरिरहेको छ । गत वर्ष साढे २२ लाख रुपैयाँ हामीले थप्यौं र यो वर्ष व्यवस्थापन गर्ने छौं । विद्यार्थीलाई राम्रो र स्थानीय उत्पादनको खाजा खुवाउने हाम्रो व्यवस्थापन छ ।’
यस्तै, विषयगत शिक्षकको दरबन्दी नहुँदा नीजि श्रोतबाट बिज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकको व्यवस्थापन गरिएको छ । हरेक विद्यालयमा कम्प्युटर शिक्षक व्यवस्थापन गरिएको छ । ‘सबैभन्दा मुल कुरा हाम्रो शिक्षा व्यवहारिक भएन भन्ने आलोचना छ तर कुन चाई हो त व्यवहारिक शिक्षा त्यो कसैले भन्न सकिरहेको छैन’, उनले भने, ‘अधिकांश नागरिकहरुको मुख्य पेशा कृषि हो र त्यही शिक्षा दिऊ न त भन्दा विद्यार्थी एक जना पनि हुँदैनन् । यो अलि विरोधाभस कुरा छ । विद्यालय सञ्चालन गर्न संख्या पुग्ने गरी पायक पर्ने गरी हुनुपर्छ । केही कुरा सरकारले फुकाइदिनु पर्छ र यही गुणस्तरीय शिक्षकद्वारा पढाउन सकिन्छ। विदेशमा जे जनशक्ति बिकेको छ त्यही पढाईदिउ । हामीले कल्पना गरेर होइन जे बिक्छ त्यही पढ्ने हो ।’
‘हाम्रो स्तरको अभिभावक कसैले पनि आफ्ना छोराछोरीले एप्रोन लगाएर कुखुराको सुलि सोरोस् भन्ने चाहादैनन्, गाईवस्तुको गोवर सोरोस भन्ने चाहादैनन्’, उनले भने, ‘विश्व बजारमा जे बिक्छ त्यही पहिचान गरी सोही विषयको पठनपाठन गर्ने तर्फ ध्यान दिनुपर्ने देखिएको छ । स्वास्थ्य तर्फको नर्सिङबाट सुरु गरौ, एचएबाट सुरु गरौं, उनीहरुले चाहेअनुसार पढ्न पाउन र बिकुन् ।’ नगरप्रमुख सुवेदी भन्छन्, ‘समयानुसार शिक्षकले पनि आफुलाई परिस्कृत गर्नुपर्छ । अभिभावकले पनि आफुलाई परिवर्तन गर्नुपर्छ। आवश्यकताको आधारमा शैक्षिक गुणस्तर र संस्थागत पूर्वाधारको खाँचो पूर्तिका लागि सबैले हातेमालो गर्नुको विकल्प छैन ।’
भौतिक निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापनमा जोड : शिक्षा अधिकृत सन्दिप पौडेल
तनहुँको भिमाद नगरपालिकामा २७ वटा प्राथमिक तह, ६ वटा आधारभूत तह, १०+२ सहित १८ वटा माध्यमिक तह र १ क्याम्पस सञ्चालनमा रहेका छन्। नगरपालिका अन्तर्गतका विद्यालयमा प्राविधिक धारका विषय पठनपाठन नभएपनि तनहुँ प्राविधिक शिक्षालयबाट सिटिइभिटीका विभिन्न विषय पठनपाठन हुने गरेका छन् ।भिमादमा शैक्षिक गुणस्तर सुधारका लागि लागू भएका योजनाहरू :
क) विषयगत सिकाइ समूह निर्माण तथा परिचालन
ख) दिवा खाजाका लागि नगरपालिकाकको तर्फबाट प्रतिविद्यार्थी रू ५ थप,
ग) कम्प्युटर शिक्षक व्यवस्थापन
घ) बालविकास शिक्षक व्यवस्थापन
ङ) कक्षा ११÷१२ मा शून्य दरबन्दी भएका विद्यालयहरूमा शिक्षक व्यवस्थापन
च) स्थानीय पाठ्यपुस्तक लेखन तथा प्रकाशन
छ) संघीय सरकारबाट उपलब्ध गराइएको तलबमा थप तलब व्यवस्थापन (इसिडी शिक्षक, विद्यालय कर्मचारी)
ज) सुत्केरी विदामा बसेका शिक्षकहरूको सट्टा स्वयंसेवक शिक्षक व्यवस्थापन,
झ) छात्रवृत्ति,
ञ) शैक्षिक सामग्री वितरण वडागत,
ट) शैक्षिक प्रदर्शनी,
ठ) भौतिक निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापन,
ड) विद्युतीय हाजिरी व्यवस्थापन,
ढ) युरोगार्ड व्यवस्थापन,
ण) नगरस्तरीय परीक्षा व्यवस्थापन
नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुलाई आइसिटी तथा एकीकृत पाठ्यक्रम कार्यान्वयन तालिम, विषयगत तालिम प्रदान गर्ने गरिएको छ शिक्षा अधिकृत सन्दिप पौडेलले बताए । ‘विद्यालयको भौतिक संरचना र स्रोत साधान सुधारका लागि विद्यालयको आवश्यकतानुसार भौतिक निर्माण, मर्मत सम्भार, शैक्षिक सामाग्रि व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्दै आइएको छ’, शिक्षा अधिकृत पौडेलले भने, ‘प्राविधिक, सीपयुक्त तथा व्यवहारिक शिक्षालाई जोड दिएको नगरपालिकाले वडागत रुपमा शैक्षिक सामाग्रि वितरण समेत गर्ने गरेको छ ।’
सबैमा सहज रुपमा शिक्षाको पहुँच र समानता सुनिश्चित गर्न दिवा खाजामा नगरपालिकाको तर्फबाट दैनिक पाँच रुपैया थप तथा अपाङ्गता भएका बालबालिकाहरुका लागि जनज्योति माध्यमिक विद्यायमा दिव स्याहार केन्द्र स्थापना, विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था लगायतका कार्यक्रमहरु सञ्चालन हुँदै आएको उनले जानकारी गराए ।
यस्तै, शिक्षाको गुणस्तर र परिणाममा सुधार ल्याउनका लागि नगरस्तरीय विषयगत सिकाई समूह गठन तथा परिचालन गर्ने गरिएको छ । आन्तरिक मूल्याङ्कनलाई व्यवस्थित गराउन पहल गरिएको छ । शिक्षा अधिकृत पौडेलका अनुसार शिक्षा क्षेत्रको निरन्तर मूल्याङ्कनका लागि अभिलेखिकरण पुस्तिकाको व्यवस्थापन गर्ने गरेको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि नगरपालिकाले स्मार्ट क्लास, अनलाइन शिक्षा र अन्य डिजिटल प्रविधिको प्रयोगलाई पनि जोड दिंदै गएको छ । उनले भने, ‘सरकारको लर्निङ पोर्टल प्रयोगका लागि प्रोत्साहन गर्दै बालविकासदेखि क्रमशः स्मार्ट टिभीको व्यवस्थापन गरिएको र सबै विद्यालयलाई इन्टरनेटको पहुँच विस्तार गरी नमूना विद्यालमया स्मार्ट बोर्डको प्रयोगद्वारा सहजिकरण गर्ने गरिएको छ ।’
विद्यालय व्यवस्थापन प्रणालीमा सुधार, विद्यालयको प्रशासनिक दक्षता सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि क्षमता विकास तालिम, प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तालिम प्रदेश तथा स्थानीय तहबाट प्रदान गर्ने गरिएको छ। प्राथमिक तहमा पढ्न र लेख्नको आधारभूत सीपको विकास तथा प्रारम्भिक शिक्षा र बालबालिकामा आधारभूत सीप विकासका कार्यक्रमलाई सञ्चालन गर्दै आइएको छ ।
शिक्षा क्षेत्रको सुधारका लागि समाजिक सहभागिता र अभिभावकहरूको समावेशीकरणका लागि नगरपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । नगरपालिकाले नगरसभा मार्फत वार्षिक नगर विकास योजना समावेश गरेको छ । शिक्षा क्षेत्रका लागि २५ करोड ५५ लाख ८ हजार ३७० रुपैयाँ वार्षिक बजेट विनियोजन गरेको छ भने ससर्त अनुदान तर्फ २ करोड २६ लाख ८४ हजार ३७० रुपैयाँ बजेट रहेको छ ।
यस्तै, शिक्षामा महिला र बालकाहरुको पहुँचलाई सहज बनाउनका लागि नियमित शैक्षिक प्रणालीमा आवद्ध गर्दै लगेको नगरपालिकाले विद्यालयभित्र विद्यार्थीहरुको सुरक्षाका लागि विद्यालय घेराबार, विद्यालय परिसर बालमैत्री बनाउने प्रयास, स्वास्थ्य शाखासंग समन्वय गरी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन, दिवा खाजामा स्थानीय उत्पादनलाई जोडेर स्वस्थकर र तातो खाजा खुवाउने लगायतका कार्यक्रमहरु सञ्चालन हुँदै आएको शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।
यस्तै, केही विद्यालय बाहेक निम्न माध्यमिक तथा माध्यमिक तहमा शिक्षक दरबन्दी नरहेको हुँदा नगरपालिकाले दरबन्दी अभाव र विषयगत शिक्षक उपलब्ध गराउन शिक्षण सिकाई सहयोग अनुदान कार्यक्रम मार्फत गणित, अंग्रेजी, विषयका शिक्षकहरुको व्यवस्थापन गरेको छ । नगरपालिकाले अन्य पालिकाहरुले जस्तै विषयगत शिक्षक दरबन्दीको अभाव झेल्दै आएको छ । जसका कारण अपेक्षित उपलब्धि हाँसिल गर्न नसकिएको र जस्ले गर्दा नगरपालिकाको थप व्ययभार बढेको शिक्षा अधिकृत पौडेलले बताए ।
विद्यालयहरुमा नियमित व्यवस्थापन खर्चको भार, कम्प्यूटर शिक्षक तथा बालविकास शिक्षक व्यवस्थापनमा आर्थिक भार बढ्नुका साथै शिक्षकहरुको तालिम व्यवस्थापनमा जनशक्तिको कमी जस्ता समस्याहरु रहेका छन् ।










