तनहुँको आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालले मिर्गौला बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई आग्रह गरेका थिए ।
लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले अस्पतालमा सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा सहयोगका लागि मन्त्री पौडेललाई धन्यवाद दिएका छन् । उनले अब पूर्ण क्षमतामा डायलसिस सेवा उपलब्ध हुने जानकारी गराए ।
गाउँपालिका अध्यक्ष चुमानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अस्पतालमा सेवा सञ्चालनका लागि सुचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको भन्दै सघाउन अनुरोध गरेपछि मन्त्री पौडेलले प्रक्रिया अघि बढ्ने बताए । अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलले उल्लेख गरे ।
यस्तै, अस्पतालमा सुरक्षित सुत्केरी सेवा सञ्चालनका लागि समेत मन्त्रालय अन्र्तगतको परिवार कल्याण महाशाखाले अनुमति दिने तयारी गरिरहेको छ । यसो भएमा गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।